
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढेको बताएका छन्।
पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले पटक–पटक भएका आन्दोलनबाट व्यवस्था परिवर्तन भएपनि सुशासन कायम हुन नसकेको बताए।
भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्न बाँकी भएपनि कम्युनिष्ट आन्दोलनको अझै आवश्यकता रहेको उनको भनाइ छ। उनले मुलुकमा सबै सम्भव भए पनि घुस खान नसकिने राज्य बनाउन जटिल रहेको बताए।
उनले संविधान र निर्वाचन प्रणालीलाई देखाएर राजनीतिक दलहरु जनताको प्रश्नबाट भाग्न खोजिरहेको आरोप पनि लगाए। उनले घुस नखानको लागि निर्वाचन आयोगले रोकेको हो? भन्दै प्रश्न समेत गरे।
उनले भने, ‘आज सुशासन छैन। दलाल पूँजीवाद छ। त्यसको कारण आज रोजगारी छैन। मुलुकमा कुशासन हिजो पनि थियो। आज पनि छ। बेरोजगारी बढ्दै गएको छ। त्यसकारण हाम्रो क्रान्तिकारी आन्दोलन बासी भएपनि अझै पनि बाँकी छ। हामी घुस खान नसकिने पार्टी, राज्य कहिले बनाउँछौँ? त्यस्तो राज्य बनाउन सकिएला कि नसकिएला? यो प्रश्न असाधारण प्रश्न हो लाग्छ।’
महासचिव भुसालले भने, ‘अहिले संविधानको कुरा छ। म यसलाई बबुरो संविधान भन्न थालेको छु। राजनीतिका नालायकीहरूलाई संविधानमा फालिए। के ले भएन भन्दा निर्वाचनले दिएन, संविधानले दिएन। तपाईंलाई घुस नखानको लागि निर्वाचनले रोकेको हो? तपाईंलाई गुटबन्दी नगर्नको लागि संविधानले रोकेको हो? गुटबन्दीको लागि मान्छेको खुट्टा तानातान गर्न, अंक गणित बनाउन चाकर गर्न र राजनीति भनेको केवल कुर्सीको खेल हो भन्ने साबित गर्नको लागि संविधानले रोकेको हो? बाध्य पारेको हो? किन भएन भन्दा संविधानले दिएन भनेर सजिलो भएको छ मान्छेलाई।’
उनले संविधान र निर्वाचन प्रणालीलाई देखाएर राजनीतिक दलहरू भाग्न खोजिरहेको आरोप पनि लगाए।









Facebook Comments