
काठमाडौं । कास्की मालपोत अधिकृतको सरुवा रोक्न र भूमि आयोगको अध्यक्ष नियुक्त गर्न मोलमलाई गरेको अडियो सार्वजनिक भएसँगै चौतर्फी दबाबपछि राजीनामा दिएका तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि डाकेको छ ।
घुस डिलको अडियो सार्वजनिक भएपछि असार ३१ गते गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए । सोही प्रकरणमा नाम जोडिएका र पोखराको १३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने प्रक्रियामा मनोज अधिकारीमार्फत ३२ लाख रुपैयाँ मागिएको दाबी गरिएको नयाँ अडियो क्लिपमा समेत मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भने अझैसम्म राजीनामा दिएका छैनन् ।
सत्तापक्षदेखि विपक्षी दलहरुले घुस डिल अडियो प्रकरणमा मुछिएका मन्त्री अधिकारीमाथि पनि छानविन हुनुपर्ने माग गरिरहेको अवस्थामा अधिकारी भने राजीनामा नदिने अडानमा छन् । उनले केही दिन अगाडि मन्त्रालयमा पत्रकार सम्मेलन नै गरेर घुस लेनदेन सम्बन्धी अडियोमा आफ्नो र आफ्नो परिवारको नाम मुछेर चरित्रहत्या गर्ने प्रयास भएको दावी गर्दै राजीनामा नदिने बताएका छन् ।










Facebook Comments