काठमाडौं । कम्युनिस्ट आन्दोलनबाट बरालिएर कहिले यता कहिले उता त भनेको जस्तो पद प्राप्त नहुँदा पार्टी फुटाउन पछि नपर्ने वामदेव गौतम अन्ततः पुरानै साथी सर्कल माधव नेपाल र झलनाथ खनालसँग मिसिन गएका छन् । नेकपा एमालेमा बस्न नसकेपछि एकीकृत समाजवादी पार्टी बनाएको माधव र झलनाथले तेस्रो वरियतामा वामदेव गौतमलाई राखेको छ ।

नेपाली राजनीतिका अस्थिर व्यक्तिको छवि बनाएका वामदेव सुरुमा एमालेमै जान चाहे पनि केपी ओलीले लोप्पा खुवाइदिएपछि अन्ततः माधव नेपालको शरणमा पुगेका हुन् । हुन त माधव नेपाल पनि पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको अभियोग लागेर मुद्दा दर्ता भएपछि अहिले पार्टीमा अप्ठेरो अवस्थामा रहेका छन् । त्यसैले उनले वामदेवलाई पार्टीमा समायोजन गरेर तेस्रो वरीयता दिएका हुन् । वामदेवको एकीकृत समाजवादीमा समायोजन हुनुमा केपी ओलीको फ्याक्टरले पनि काम गरेको छ ।

ad

यसअघि समाजवादीमा जाने भनेर ठिक्क परेका बेला ओलीले एमालेमा भित्र्याउने भन्दै सहमति गरेका थिए । तर उनको अभियानका बारेमा एमालेको बैठकले कुनै पनि निर्णय नगर्दा अप्ठेरोमा परेका वामदेवले त्यतिबेला भनेका थिए ‘मलाई जसले पहिला बोलाउँछ उतै जान्छु ।’ तर, यसबीचमा ओलीले नबोलाएपछि अन्ततः समाजवादीमा पुगेर वामदेवले यतिबेला राजनीतिको डोको बिसाएका छन् ।

गौतम नेपाली कम्युनिस्ट आन्दोलनका एक सशक्त र प्रभावशाली नेता हुन् । उनको राजनीतिक यात्रा २०२० को दशकदेखि सुरु भएको थियो । झापा आन्दोलनदेखि नेकपा (एमाले) र पछि नेकपाको स्थापनासम्म महत्वपूर्ण भूमिका खेलेका गौतमले २०५५ सालमा नेकपा एमाले विभाजन गराएका थिए ।

उनको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (माले)को गठन भएपनि पछि एमालेसँगै एकीकरण भएको थियो । गौतमको योगदान केवल राजनीतिक नेतृत्वमा मात्र सीमित छैन । उनले पूर्वउपप्रधानमन्त्री, गृहमन्त्री र राष्ट्रिय सभाको सांसदको रूपमा समेत काम गरेका छन् । विशेष गरी २०७० को संविधान सभाको दोस्रो निर्वाचनमा केपी शर्मा ओलीलाई संसदीय दलको नेतामा निर्वाचित गराउन उनको सहयोग निर्णायक थियो । त्यहीँबाट ओली संविधान जारी भएपछि पहिलोपटक देशको प्रधानमन्त्री बनेका थिए । तर सत्ता र पदीय बाँडफाँटका सहमति कार्यान्वयन नहुँदा यी दुई नेताबीच खटपट सुरु भएको थियो।

२०७४ सालको चुनावमा एमाले र माओवादीलाई एकता गराएर नेकपा गठन हुँदा अपेक्षा गरेका उनी बर्दियामा चुनावमा पराजित भएपछि भने राष्ट्रिय राजनीतिमा ओझेलमा पर्दै गएका थिए । सर्वोच्च अदालतको आदेश अनि केपी ओली र प्रचण्डबीचको टसलका कारण नेकपाको एकता भंग हुँदा गौतमले कुनै पनि समूहमा स्पष्ट रूपमा पक्ष नलिई नेकपा एकता राष्ट्रिय अभियान सुरु गरेका थिए ।

उनले नेकपाका केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधव नेपाल समूहलाई एकताबद्ध बनाउने प्रयास गरे पनि उनको अभियानले परिणाम दिन नसक्दा उल्टै आफैँ मूलधारभन्दा बाहिर भएका थिए । उनलाई राष्ट्रपतिले मनोनीत गर्ने कोटाबाट राष्ट्रिय सभामा लगिएको हो । हालैको एक अन्तर्वार्तामा राजनीति प्रति वितृष्ण व्यक्त गरे पनि त्यही राजनीतिले आफ्नो घर चलेको टिप्पणी गरेका थिए ।

नेकपाको विभाजनको समयमा गौतमले तटस्थ रहने प्रयास गरे, तर उनले ओलीको नेतृत्व शैलीमाथि कडा आलोचना गरे । उनले ओलीलाई पार्टी संकटको मुख्य कारक भएको र कम्युनिस्ट आन्दोलनलाई समाप्तिको दिशातर्फ धकेलेको आरोप लगाए । २०७७ मा नेकपाको सचिवालय बैठकमा गौतमले ओलीमाथि कडा टिप्पणी गरेका थिए, जहाँ उनले ओलीलाई कम्युनिस्ट नेताको योग्यता नभएको समेत भनेका थिए ।

गौतमले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने प्रस्ताव राखे पनि पार्टी फुटबाट जोगाउन ६ बुँदे प्रस्ताव अघि सारेका थिए । तर, ओली र दाहाल–नेपाल समूहबीचको बढ्दो दूरीले उनको प्रयास सफल हुन सकेन । यही टकरावका कारण गौतम नेकपाबाट बाहिरिए र आफ्नै नेतृत्वमा एकता अभियान चलाएर बसेका थिए । शुक्रबार भएको एकता घोषणा सभामा उनले रगत बगाएर मात्र समाजवाद प्राप्त नहुने बताए । उनले भने, ‘युद्ध र रगत बगाएर मात्र कम्युनिस्ट पार्टीले सोचेको समाजवाद प्राप्त हुन्छ भन्नेमा म छैन । त्यही भएर नै हामीले नेपालको संविधानमा लोकतान्त्रिक, मूल्यमान्यतामा आधारित समाजवाद भनेका छौ । हामी जाने त्यही बाटोमा हो र त्यही निर्माण गर्ने हो । त्यो नभएकाले सोभियत संघ असफल भयो र पूँजीवाद पुनःस्थापना भयो ।’

उनले भावुक हुँदै आज एकीकृत समाजवादीसँग एकता गर्दा खुशी लागेको भन्दै एकताको लागि चार वर्ष समय लागेको बताए ।

‘म ज्यादै खुसी भएको छु । मैले धेरै कुरा व्यक्त गर्न सक्दिन् । किनभने नेकपा एकीकृत समाजवादीमा एकीकृत हुनका निम्ति आजभन्दा चार वर्ष पहिलेदेखि यात्रा सुरु गरें । तर पूरा भएको थिएन । मेरो पार्टी अफिस स्वयम्भूमा छ, त्यहाँबाट समाजवादीको पार्टीसम्म आइपुग्न चार वर्ष लाग्यो । आज मैले भने जसरी एकीकृत भएका छौँ,’ उनले भने ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले नेपालका कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध भएर अगाडि बढाउन निरन्तर प्रयास गर्नुपर्ने बताए ।

उनले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउनका लागि हाम्रो भूमिका नै महत्वपूर्ण छ । त्यसो हुनाले नेपालका सबै क्रान्तिकारीहरूलाई वा कम्युनिस्ट शक्तिहरूलाई एकतावद्ध भएर अगाडि बढ्नका लागि आफ्नो प्रयासलाई निरन्तर अगाडि बढाउनुपर्छ ।’
उनले पार्टी बलियो भए मात्र सबैले मान्ने धारणा राख्दै आफ्नो शक्ति बलियो बनाउने कुरामा ध्यान केन्द्रित हुनुपर्ने बताए ।

‘एकता भयो कि भएन भनेर सधैँ गीत गाएर बस्ने पनि होइन, कुरेर बस्ने पनि होइन । आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । आफ्नो पार्टी बलियो भयो भने त्यसको कुरा सबैले सुन्छन । कमजोरको कुरा कसैले सुन्दैन । त्यसैले आफ्नो शक्ति बलियो बनाउने कुरामा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ,’ उनले भने । कार्यक्रममा सम्मानित नेता झलनाथ खनालले देश अहिले चौतर्फी राजनीतिक संकटमा परेको औँल्याए । उनले अहिलेको सरकारले जनताको हितमा काम नगरेको बताए ।

‘आज हामी चौतर्फी राजनीतिक संकट छौँ । दुईवटा हात्ती जस्ता पार्टी हौँ भन्नेहरू सरकारमा छन् । भर्खरै नीति कार्यक्रम ल्याए बजेट ल्याए । तर नीति र कार्यक्रममा नेपाली जनता र नेपाल राष्ट्रको हित केहीपनि छैन् । त्यसैले देश आज भयावह राजनीतिक संकटमा छ ।’