हालै सम्पन्न नेपाली कांग्रेसको पछिल्लो केन्द्रीय कार्यसमितिको बैठकलगत्तै पार्टीका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिक भेटघाट तीव्र बनाएपछि नेपाली राजनीति बजारमा यसका चर्चाहरू बढ्न थालेका छन् ।
सरकार गठन भएको १ वर्ष पूरा भइसकेको अवस्थामा अहिलेसम्म यसले गति लिन नसकेको आरोप प्रतिपक्षीले लगाइरहेका बेला कांग्रेसको संस्थापनइतरको नेतृत्व गर्ने कोइरालाले पूर्वराष्ट्रपति विद्या भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । विगतमा माओवादी र कांग्रेससँगको गठबन्धन हुँदा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बनाउनुपर्छ भन्ने कोइराला अहिले माओवादी अध्यक्ष प्रचण्डसँगको भेटका कारण चर्चा छन् ।

प्रचण्ड निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिको विषयमा कुराकानी भएको बताइए पनि कोइराला वर्तमान सरकारसँग सन्तुष्ट छैनन् । विगतमा कोशी प्रदेशमा आफूअनुकूल केदर कार्कीलाई मुख्यमन्त्री बनाउँदा विद्रोह गरेका कोइराला त्यसपछिका घटनाक्रममा डिफेन्सिभ देखिएका थिए । तर, केन्द्रीय कार्यसमितिको बैठकको सुरुमा धारणा राख्दा आक्रमक रूपमा प्रस्तुत भएका कोइरालाले अहिले पार्टीका शीर्ष नेताहरूमाथि दबाब बढाउन भेटघाटलाई तीव्रता दिनुलाई रणनीतिक रूपमा बुझ्नुपर्ने राजनीतिक विश्लेषकहरू बताउँछन् ।
नेता कोइरालाले अस्ति शुक्रबार बिहान पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उनकै निवासमा पुगेका थिए । कोइराला भण्डारी निवास पुगेपछि वैकल्पिक गठबन्धनको चर्चा चल्न थालेको छ ।

ad

भेटमा देशको समसामयिक राजनीति, सरकारको काम कारवाही र जनताको असन्तुष्टिका बारेमा छलफल भएको बुझिएको छ । भेटमा दुई नेताबीच सरकारको पछिल्लो एक वर्षको कामको समीक्षा पनि भएको थियो ।
सरकारले जनअपेक्षाअनुरूप काम गर्न नसकेको भन्दै अहिले कोइराला समूह कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने प्रयास गरिरहेको छ । यस्तोमा माओवादी अध्यक्ष प्रचण्ड र त्यसलगत्तै नेकपा एमालेको नेतृत्वकै दाबेदारी गरिरहेकी भण्डारीसँगको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

भण्डारीले भर्खरै सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छिन् र आफू पार्टी अध्यक्ष बन्नकै लागि राजनीतिमा फर्किएको बताएकी छिन् । नेकपा एमालेको आगामी महाधिवेशनमा पार्टी अध्यक्ष पदका लागि केपी ओलीसँग भण्डारी नै प्रतिस्पर्धामा रहने अनुमान गरिएको छ । सरकारले प्रभावकारी काम गर्न नसकेको भनेर तीव्र आलोचना भइरहँदा पनि कांग्रेस सभापति शेरबहादुर देउवा भने नयाँ गठबन्धनको पक्षमा छैनन् । एमालेसँग गरिएको सहमतिअनुसार अबको १ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने पालो आउन लागेको छ त्यसैले देउवा गठबन्धन जोगाउने पक्षमा छन् । तर, कोइराला भने नयाँ गठबन्धन बनाएर कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्ने पक्षमा छन् ।

एमालेमा अध्यक्षको दाबेदारी गरिरहेकी विद्या भण्डारीलाई जसरी पनि रोक्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली प्रयासरत छन् । आफू प्रधानमन्त्री बन्ने पालो आउँदै गर्दा ओलीलाई पार्टीभित्र शक्तिशाली बनाइराख्न देउवाले पनि विद्या भण्डारी राजनीतिमा फर्किन नहुने तर्क गरिरहेका छन् ।