काठमाडौं । कास्की मालपोत अधिकृतको सरुवा रोक्न र भूमि आयोगको अध्यक्ष नियुक्त गर्न मोलमलाई गरेको अडियो सार्वजनिक भएसँगै चौतर्फी दबाबपछि तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिए पनि सोही प्रकरणमा नाम जोडिएका र पोखराको १३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने प्रक्रियामा मनोज अधिकारीमार्फत ३२ लाख रुपैयाँ मागिएको दाबी गरिएको नयाँ अडियो क्लिपमा समेत मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भने अझैसम्म राजीनामा दिएका छैनन् । राजीनामा गर्न सत्तापक्ष र विपक्षी दलले तीव्र दबाब दिइरहँदा पनि उनी राजीनामा नदिने अडानमा छन् ।

आफ्नो मन्त्रिपरिषद्का कुनै पनि सदस्यलाई हटाउने पूर्ण अधिकार प्रधानमन्त्रीलाई भए पनि अधिकारीको विषयमा भने मौन रहनुले प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारीलाई उन्मुक्ति दिन खोजेको आशंका समेत व्याप्त छ । घुस डिलको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले बालुवाटारमै बोलाएर अडियो प्रकरणबारे स्पष्टीकरण सोधेको भोलिपल्टै गुप्ताले आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएका थिए । निवर्तमान मन्त्री गुप्तामाथि छानबिन गरी दोषी देखिए कारबाही गर्ने सरकारका प्रवक्ता समेत रहेका सूचना, प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए पनि हालसम्म छानबिन समिति गठन भएको छैन ।

ad

यता यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भइसकेको र अख्तियारले अडियो परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको समाचारस्रोतले जनाएको छ । तर अडियो प्रकरणमा मुछिएका अर्का मन्त्री अधिकारीलाई भने प्रधानमन्त्री ओलीले कुनै स्पष्टीकरण सोधेका छैनन् ।

सत्तापक्षदेखि विपक्षी दलहरूले घुस डिल अडियो प्रकरणमा मुछिएका मन्त्री अधिकारीमाथि पनि छानबिन हुनुपर्ने माग गरिरहेको अवस्थामा अधिकारी भने राजीनामा नदिने अडानमा छन् । उनले केही दिनअगाडि मन्त्रालयमा पत्रकार सम्मेलन नै गरेर घुस लेनदेनसम्बन्धी अडियोमा आफ्नो र आफ्नो परिवारको नाम मुछेर चरित्रहत्या गर्ने प्रयास भएको दाबी गर्दै राजीनामा नदिने बताएका हुन् ।