नेपाली राजनीतिका शिखर पुरुष एवं नेपालको प्रजातान्त्रिक आन्दोलनका धरोहर, प्रथम जननिर्वाचित प्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक नेता, दक्षिण एसियामा नै उँचो राजनीतिक कद स्थापित गर्न सफल बीपी कोइरालाको स्मरणमा पर्सि साउन ६ गते नेपाली कांग्रेसले ४३औँ बीपी स्मृति दिवस मनाइँदै गर्दा उनले प्रतिपादन गरेको नीति र सिद्धान्तमा कांग्रेस हिँडिरहेको छ त ? भनी अनेकौँ प्रश्नहरू नेपालको राजनीतिमा उठ्न थालेको छ । पार्टीमा भ्रष्टाचार, दण्डहीनता, धनवाद र डनवाद मौलाउँदै गएको परिप्रेक्ष्यमा शीर्ष नेतृत्वले बीपीवादलाई बिर्संदै गएको भनी इमानदार तथा पुराना कांग्रेस कार्यकर्ताहरूले यत्रतत्र चर्चा गरिरहेकाबखत उनको स्मृतिमा कांग्रेसका शीर्ष नेतृत्वले यो विषयलाई गम्भीर रूपमा मनन गर्नुपर्ने देखिन्छ ।

बीपीले देखेको नेपाली समाजको सपना र उनले कोरेका मार्गचित्रमा कांग्रेस हिँड्न नसक्दा अवसरबाट वञ्चित र अवसरबाट लाभान्वित बीचको द्वन्द्वले अहिले कांग्रेसमा गुट, उपगुट हावी हुँदै गएको देखिन्छ । नेपालमा अहिले व्यवस्था बदलिएको छ यद्यपि जनताको अवस्थामा अपेक्षित सुधार हुन नसक्दा ‘प्रजातन्त्र आएपछि सत्तामा मोटाघाटा चिल्ला सुकिला र अवसरवादीहरू हाबी हुनेछन्, तिनीहरूका विरुद्ध इमानदार र त्यागी कार्यकर्ताले एकपटक पुनः संघर्ष गर्नुपर्ने छ भन्ने बीपी कोइरालाले दशकौँ अगाडि व्यक्त गरेको यो विचार अहिले पनि उत्तिकै सान्दर्भिक छ । बीपीको सम्झनामा कांग्रेस नेताहरूले उनका सपनाहरू साकार पार्ने भाषण गर्न कहिले थाक्ने गरेका छैनन्, उनको सपना साकार पार्न अहिलेका कांग्रेस नेताहरूले कत्तिको भूमिका निर्वाह गरिरहेका छन् ? यो प्रश्न पनि अहिले उठेकै छ ।

ad

पछिल्लो समयमा कांग्रेस बीपीको विचारभन्दा पनि सत्ता, शक्तिको पछाडि लाग्दा आमकार्यकर्तामा निराशा पैदा भएको स्वयं कांग्रेसका नेताहरूले स्वीकार गरेका छन् । बीपी राजनीतिलाई केवल सत्ता प्राप्तिको साधन नभई समाज रूपान्तरणको माध्यम मान्ने र व्यक्तिगत स्वतन्त्रता, आर्थिक समता र सामाजिक न्यायका पक्षपाती दूरदर्शी नेता थिए । देशको राजनीति अन्यौल, अविश्वास र स्वार्थले ग्रसित रहेको अवस्थामा उनका विचारहरूलाई मार्गदर्शनको रूपमा अंगिकार गर्न सके निकै सान्दर्भिक हुन्छ नै । बीपीलाई सम्झिरहँदा कांग्रेस नेता तथा कार्यकर्ताहरूले उनका कालजयी विचार र सन्देशलाई ग्रहण गर्दै उनको सपना पूरा गर्ने मार्गमा अग्रसर हुनु जरुरी छ ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन संघर्ष गरेका दूरदर्शी नेता कोइरालाको विसं २०३९ साल साउन ६ गते निधन भएको थियो । प्रत्येक वर्षको साउन ६ गतेलाई नेपाली कांग्रेसले बीपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन छ । जीवनको लगभग ६० वर्ष नै नेपाल र भारतको स्वतन्त्रता र प्रजातन्त्रको लडाइँका निम्ति समर्पित गरेका महान् नायक बीपी कोइराला नेपालको प्रजातान्त्रिक तथा समाजवादी आन्दोलनका एक विशिष्ट धरोहर हुन् ।

राष्ट्रियता, लोकतन्त्र तथा समाजवादका क्षेत्रमा बीपीले पुर्‍याएको अतुलनीय योगदान नेपाली राजनीतिक इतिहासमा अमर रहेको छ । बीपी कोइरालाको लोकतान्त्रिक समाजवादको आन्दोलनले नेपालको राजनीतिमा विशेष गरी २०औँ शताब्दीको मध्यमा ठूलो प्रभाव पारेको थियो ।

आजको राजनीतिक परिवेशमा समेत बिपी विचारको महत्व उत्तिकै सान्दर्भिक छ । बीपीको राजनीतिक निष्ठा, मूल्य र मान्यता एवम् उनका राजनीतिक विचारहरू ज्यादै शक्तिशाली एवं लोककल्याणकारी छन् ।

आफ्नो सम्पूर्ण जीवनकाल प्रजातन्त्रको लडाइँमा समर्पित गरेका बीपी २०१५ सालको संसदीय आमनिर्वाचनमा दुईतिहाई भन्दा बढी मतले विजयी भएपछि जननिर्वाचित पहिलो प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त गरेका थिए । उनको नेतृत्वको सरकारले जनताले प्रत्यक्ष अनुभुति गर्ने गरेका धेरै जनपक्षीय कामको सुरुवात गरेको थियो । २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइरालालगायत नेतालाई बन्दी बनाइएको थियो ।

२०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठवटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किएका थिए । बीपीले अपनाएको मेलमिलापको नीति आज पनि देशको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।

प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता बीपीले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक समेत रहेका बीपी कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।

समाजवाद र उन्नत लोकतन्त्रका लागि बीपीका विचारहरू मार्गदर्शक हुन् । बीपी कोइराला भौतिक रूपमा आज हाम्रा सामु छैनन् । तर उनले प्रतिपादन गरेको सिद्धान्त, उनले सिर्जना गरेका कृतिहरू हामीसमक्ष छन् । बीपी कोइराला अतीतका नेता मात्र होइनन, भविष्यका लागि मार्गदर्शक पनि हुन् । उनका सोच र विचार आधुनिक नेपाल निर्माणका लागि मार्गदर्शन हुन सक्छन् । महामानव बीपी कोइरालाप्रति हार्दिक श्रद्धासुमन ।