माधवकुमार नेपाल

हामी एकता अभियानलाई नयाँ सीमामा अगाडि बढाउँदै छौँ । एकता अभियान सकिएको होइन । यो एकताको प्रक्रिया सुरु भएको हो । यो निरन्तर जारी रहन्छ । त्यस अर्थमा आजको कार्यक्रमको विशेष महत्व छ ।

ad

म सबैभन्दा पहिले नेकपा एकता राष्ट्रिय अभियानका तत्कालीन प्रमुख वामदेव गौतम र उहाँ सँगसँगै सिंगो अभियानका अभियान नेतृत्वहरू अभियान कर्ताहरू सबैलाई नेकपा एकीकृत समाजवादीमा एकीकृत हुनुभएकोमा हार्दिक स्वागत गर्न चाहन्छु । र तपाईंंहरूले हामीले हातेमालो गर्दै सबै किसिमका चुनौतीहरूको सामना गर्ने आँट राख्नुपर्छ र त्यो आँट मात्रै होइन त्यो आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ भन्ने कुरामा म जोड दिन चाहन्छु ।

संसारमा कुनै पनि कुराहरू सजिलो हुँदैन । हाम्रो राजनीतिक जीवनको अनुभवले बताएको छ । चुनौतीहरू आइरहन्छन् । त्यसको सामना गर्ने आँट हुनुपर्छ । सही विचार हुनुपर्छ । पहिलो कुरा आँट नै हो । दोस्रो कुरो भनेको सही विचार हो ।

तेस्रो कुरो भनेको त्यसको निम्ति लगनशीलता लागूने नथाकीकन नहतारिईकन, नडराईकन, अलमलमा नपरीकन अगाडि बढ्ने पनि हो ।

वामदेव गौतम र हाम्रो सहयात्रा धेरै लामो कालदेखि रहँदै आएको वामदेव गौतमले भनिहाल्नुभयो २०३६ सालमा उहाँ जेलबाट छुटेर आएपछि पछि, तत्कालीन नेकपा, मालेको बैठक, केन्द्रीय कमिटीको बैठक, रुपन्देही जिल्लामा, आयोजना गरेको बेलामा, उहाँसँग भेट भयो ।

हुन त उहाँको बारेमा त्योभन्दा पहिले पनि सुनेको थिएँ । जीवराज आश्रित कमरेड, उहाँलाई म सम्झन चाहन्छु । क. मोदनाथ प्रश्रित कमरेड उहाँलाई म सम्झिन चाहन्छु । कमरेड मदन भण्डारी कमरेड उहाँलाई पनि म सम्झिन चाहन्छु ।

यी सबै कमरेडहरू त्यो बेलामा पुष्पलाल समूहबाट विद्रोह गरेर, त्यो बेलाको माले भइसकेको थिएन, नेकपा पनि भइसकेको थिएन, कोर्डिनेसन केन्द्रमा उहाँहरू समाहित भइसकेपछि हामी लगातार अगाडि बढिरहेका छौँ अनेक मोडहरूमा अनेक व्यक्तिहरूका खुट्टा कामेका थिए । म कमरेड वामदेव गौतमलाई त्यसमा विशेष धन्यवाद दिन चाहन्छु । राजतन्त्र विरुद्धको लडाइँको बेलामा दृढताका साथ सँगसँगै हातेमालो गर्दै देशव्यापी आन्दोलनको तरंग पैदा गर्ने कुनै नेता थियो भने वामदेव गौतम हुनुहुन्थ्यो ।

त्यो क्रान्तिकारी ऊर्जा, त्यो क्रान्तिकारी जोस, उहाँमा अहिले पनि यो ७७ वर्षको उमेरमा देख्दाखेरि अहिले हामी पनि प्रफुल्लित भएका छौँ । जाँगर बढेर गएको छ त्यसो हुनाले तपाईंंले ७७ लाई ९७ होइन सय वर्ष पुर्‍याउने कुरा गर्दै हुनुहुन्छ । दीर्घायुको म कामना गर्न चाहन्छु शतायु प्राप्त गर्न सक्नुहोस् भन्ने शुभेच्छा पनि व्यक्त गर्न चाहन्छु । तर त्योभन्दा पहिले नेपाली समाजको आमूल परिवर्तन गर्ने कुरामा, रूपान्तरण गर्ने कुरामा, नेपालको राजनीतिमा कम्युनिस्ट पार्टीलाई स्थापित गर्ने कुरामा र कम्युनिस्ट पार्टीमा आमजनताको आकर्षण बढाउने, विश्वास बढाउने काममा हामी सँगसँगै हातेमालो गर्दै अगाडि बढिरहौँ यो भावना पनि व्यक्त गर्न चाहन्छु ।

आज जनतामा निराशा छ । त्यो निराशालाई चिर्ने कसरी ? राजनीतिक पार्टीहरूप्रति वितृष्णा देखापरिरहेको छ । त्यसलाई कसरी विश्वासमा परिणत गर्ने हो ? यी चुनौतीहरू हाम्रो सामु छ ।

हाम्रा काम, हाम्रा नीति, हाम्रा व्यवहार, यी सबै कुराको आधारमा हाम्रा आचरण इत्यादिको आधारमा जनताले हामीलाई पत्याउने हो । हामी आत्मविश्वासका साथ अहिले पनि भन्न चाहन्छौँ कि नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउनका लागि हाम्रो भूमिका नै महत्वपूर्ण छ ।

त्यस हुनाले नेपालका सबै सबै क्रान्तिकारीहरूलाई कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध भएर अगाडि बढ्नका लागि हामीले आफ्नो प्रयासलाई निरन्तर अगाडि बढाउनुपर्छ । यसो भनिरहँदा अरूसँग एकता भयो कि भएन भनेर सधैँभरि गीत गाएर बस्ने पनि होइन, कुरेर बस्ने पनि होइन, आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । आफ्नो पार्टी बलियो भयो भने आफ्नो शक्ति बलियो भयो भने त्यसको कुरा कसैले सुन्छ ।

कमजोरको कुरा कोही सुन्नेवाला छैन । त्यसो हुनाले आफ्नो शक्ति बलियो बनाउने कुरामा आफ्नो संगठन बलियो बनाउने कुरामा आफ्नो संगठनलाई गतिशील बनाउने कुरामा आफ्नो संगठनलाई जनतामा लोकप्रिय बनाउने कुरामा जनताको विश्वास आर्जन गर्ने कुरामा जनताका पीडा र वेदनालाई सम्बोधन गर्ने कुरामा हाम्रो ध्यान केन्द्रित हुनुपर्दछ ।

कुरामा क्रान्तिकारी र व्यवहारमा यथास्थितिवादी यस्तो हुनुभएन । हुनुहुँदैन । त्यस हुनाले जनताका समस्याहरू के हुन् ? यहाँ त देख्दै हुनुहुन्छ कुन मदन भण्डारीले भन्नुभएको थियो– सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्दछ ।

त्यसो हुनाले हाम्रो सिद्धान्त नेपाली विशेषताको समाजवाद भनेर हामीले जुन कार्यक्रम अगाडि सारेका छौँ, त्यसले नेपालको विशेषतालाई अँगाल्न सक्नुपर्छ । नेपालको यथार्थतालाई त्यसले प्रतिविम्बित गर्न सक्नुपर्छ । जसले नेपाललाई बुझ्दैन, नेपाली यथार्थतालाई बुझ्दैन, नेपाली समाजलाई बुझ्दैन, नेपाली मनोभावनालाई बुझ्दैन, नेपाली राजनीतिको जटिलतालाई बुझ्दैन, त्यसले सही सिद्धान्तको प्रतिपादन गर्न सक्दैन । त्यसले सही विचार अँगाल्न सक्दैन र त्यो जनतामा स्थापित पनि हुँदैन ।

त्यो कामकाजी पनि हुँदैन । त्यसो हुनाले हामी नेपाली समाजलाई राम्ररी बुझाऊँ । अहिलेको विश्वलाई राम्ररी बुझाऊँ । विश्वका जटिलतालाई राम्ररी बुझाऊँ । हाम्रासामु क. पुष्पलाल हुनुहुन्छ । उहाँले कसरी चुनौतीहरूको सामना गर्नुभयो ? हाम्रोसामु मनमोहन अधिकारी हुनुहुन्छ । उहाँले कसरी चुनौतीहरूको सामना गर्नुभयो ? हाम्रासामु मदन भण्डारी हुनुहुन्छ । कसरी चुनौतीहरूको सामना गर्नुभयो ? उहाँहरूले निर्वाह गर्नुभएको भूमिकाको हामीले उच्च कदर गर्नुपर्छ । उहाँहरूबाट प्रेरणा प्राप्त गरेर अगाडि बढ्ने काम गर्नुपर्दछ ।

सजिलै गरी कम्युनिस्ट पार्टी अगाडि बढेको होइन । अनेकौँ उतारचढावको सामना गर्दै अगाडि बढेको, अनेकौँ चुनौतीहरूको सामना गर्दै अगाडि बढेको हो । अहिले कम्युनिस्ट पार्टीमा दक्षिणपन्थी यथास्थितिवादी प्रवृत्ति व्याप्त छ भने अर्कोतर्फ जडसूत्रवादी प्रवृत्ति उग्रवामपन्थी प्रवृत्ति त्यो पनि व्याप्त छ । जडसूत्रवादी प्रवृत्तिले पनि हुने वाला छैन भने दक्षिणपन्थी अवसरवादी प्रवृत्तिले त कम्युनिस्टलाई विघटनतर्फ, विसर्जनतर्फ, निराशातर्फ, पलायनतर्फ लिएर जान्छ । त्यसो हुनाले ठिक ठिक ढंगले हामीले परिस्थितिको विश्लेषण गर्न सक्नुपर्छ हाम्रो सिद्धान्तको सही ढंगले निरुपण गर्न सक्नुपर्छ ।

बल्ल त्यसको अभ्यास कसरी गरिरहेका छौँ भन्ने कुरालाई हामी व्यवहारमा जाँच्न सक्दछौँ । यस्ता अनेक मोडहरूबाट हामी अगाडि बढेका छौँ । अनेक मोडहरूको सामना गरेका छौँ । त्यसो हुनाले नेपालको कम्युनिस्ट पार्टीले संसारमा नयाँ उदाहरण प्रस्तुत गर्‍यो । अब मदन, मनमोहन अधिकारीको नेतृत्वमा त्यो बेलामा कम्युनिस्ट पार्टीले बुर्जुवा पार्टी नेपाली कांग्रेसलाई पनि पराजित गरेर सबैभन्दा ठूलो पार्टी बन्न सफल भयो । त्यसो हुनाले उदाहरण प्रस्तुत गर्न सकिन्छ । असम्भवलाई सम्भव गर्न सकिन्छ । सकिन्छ । विश्वमा नभएका कुराहरू नेपालमा हामी गर्न सक्दछौँ । यसको उदाहरण हामीले प्रस्तुत गरेका छौँ । त्यसो हुनाले म पटकपटक भन्छु– निराश हुनुपर्ने कुनै आवश्यकता छैन । तपाईंंहरू निराश नहुनुहोस् ।

निराशाको प्रचार नगर्नुहोस् । हतोत्साहित नबनाउनुहोस् । जो हतोत्साहित छ, ऊ पाखा लागूछ । जसमा हिम्मत छैन ऊ किनारा लागूछ । हिम्मत हुनेहरू अगाडि बढ्छन् । त्यसो भएर हिम्मतका साथ अगाडि बढ्नुहोस् भन्ने कुरामा म जोड दिन चाहन्छु ।

वास्तवमा क. वामदेव गौतम उहाँको समूहसँग एकताबद्ध हुने कुरा धेरै समयदेखि चलिरहेको थियो । तर, त्यो पनि फेरि अप डाउन अप डाउन अब भयो अब भयो भन्यो फेरि टर्‍यो । तर आज अन्तिम बेलामा पनि मलाई केहीले भन्दै हुनुहुन्थ्यो– हैन, आज त हुन्छ कि हुँदैन फेरि भन्दै हुनुहुन्थ्यो । मैले सबै सहमति भएर वक्तव्य जारी भइसक्यो । अब यताउता हुनेवाला छैन । त्यति मात्रै होइन, उहाँहरूसँग रहनुभएका अरू साथीहरू पनि जो त्यहाँ आन्तरिक मतभेद भएको हुनाले उहाँहरू एक ढंगको अवस्थामा रहनुभएको छ । उहाँहरूलाई पनि हामीले समेटेर लानुपर्ने आवश्यकता छ । अरूलाई पनि समेट्नुपर्ने आवश्यकता छ । विभिन्नसँग हाम्रो कुराकानी चलिरहेको छ ।

विभिन्न साना–साना समूहसँग पनि हामीले कुरा चलाइरहेका छौँ । जिल्ला जिल्ला स्तरमा भएकाहरू प्रदेश प्रदेशमा रहेकाहरू अनि सानो समूह बनाएर बसेकाहरू उहाँहरू पनि हामीसँग एकताबद्ध भएर जान चाहनुभएको छ । अनि एकताबद्ध भएर जान चाहनेहरू मध्ये कतिपय सँग हामीले सहकार्य गरिरहेका छौँ । सहकार्य गरेर हामीले मोर्चा बनाएर पनि अगाडि बढिरहेका छौँ । त्यहीँको फलस्वरूप समाजवादी मोर्चा अहिले पनि जिउँदै छ । त्यही समाजवादी मोर्चामा हाम्रो पार्टी पनि छ । नेपाल समाजवादी पार्टी पनि छ । त्यही समाजवादी मोर्चामा नेकपा विप्लवको समूह पनि छ । त्यही समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र पनि छ । उहाँहरूसँग हामी सहकार्य गर्दै मोर्चा बनाउँदै साझा विषयहरूमा कार्यक्रमहरू गर्दै आन्दोलनमा समेत अगाडि बढिरहेका छौँ ।

यसै क्रममा विचार सिद्धान्त मिलेको खण्डमा मन र भावना पनि मिलेको खण्डमा अरू कुराहरू पनि मिलेको खण्डमा त्यस्ता त्यस्ता समूहहरूलाई समूहहरूसँग हामी मिलेर पनि अगाडि बढ्न सक्छौँ । तर हामी त्यसलाई पहिलो महत्व दिदैनौँ । पहिलो महत्व आफ्नो पार्टीलाई बलियो बनाउने कुरालाई दिन्छौँ । आफ्नो पार्टी बलियो भयो भने मात्र अरूसँगको एकता सार्थक हुन्छ र अर्थपूर्ण हुन्छ । हाम्रो पार्टीको शक्तिको कारणले पनि राष्ट्रिय राजनीतिमा हामीले महत्वपूर्ण भूमिका खेल्न सकेका छौँ । तपाईंंलाई सम्झना हुनुपर्दछ । यही ठाउँ हो, भृकुटीमण्डपको अगाडि चैत्र १५ गते हामीले तत्कालीन समयमा राजतन्त्रको बारेमा विभिन्नले अनेक ढंगले जनतामा भ्रम पैदा गर्न खोजेका थिए । त्यसलाई चुनौती दिएर नै हामीले खुला सभा गरेका थियौँ । जुलुस निकालेका थियौँ । त्यो जुलुस र सभामा मैले आफैँ हेरिरहेको थिए ।

मान्छेहरूको हातमा कलम चिह्न भएको झण्डा त्यहाँ फहराइरहेको थियो । हजारौँको संख्यामा तपाईंंहरू उपस्थित हुनुभएको थियो र त्यसले सन्देश दिएको थियो र त्यो त्यो बेलाका राजावादीले आयोजना गरेको कार्यक्रमभन्दा कैयौँ गुना ठूलो अरू पार्टी जो सत्तामा छन्, तिनीहरूले पछि आयोजना गरेको कार्यक्रमभन्दा थुप्रै थुप्रै थुप्रै हजारौँको संख्यामा बढी मानिसहरूको उपस्थिति रहेको थियो । त्यसो हुनाले तपाईंंहरूले मन खिन्न गर्नुपर्ने कुनै आवश्यकता छैन । निराश हुनुपर्ने कुनै आवश्यकता पनि छैन । त्यसमा पनि अब हाम्रो शक्ति वामदेव कमरेडको नेतृत्वको यो समूह एकताबद्ध भइसकेपछि यो शक्तिमा वृद्धि हुन्छ नै । सबैले आफ्नो सक्रियतालाई बढाउनुपर्छ ।

सबै सातैवटा प्रदेशमा हामीले देशभित्र र देशबाहिर पनि हाम्रो सारा शक्तिमा, सारा पंक्तिमा नयाँ ऊर्जा पैदा गर्नुपर्छ, नयाँ उत्साह बढाउनुपर्छ र यो सबै कुराको निम्ति पनि वामदेव कमरेडले भन्नुभएको छ, मलाई जिम्मेवारी दिनुहोस् । हामी बस्छौँ । छलफल गर्छौं । अब हामी एउटै पार्टीका हामी योद्धाहरू हौँ । त्यसो हुनाले छलफल गरेर कसले के जिम्मेवारी प्राप्त गर्ने हो ? के गर्दाखेरि हाम्रो काम बढ्ता प्रभावकारी हुन सक्दछ । पार्टीलाई गति प्रदान गर्न सकिन्छ । त्यसको हामी त्यही छलफल गरौँला । त्यस हुनाले वामदेव कमरेडको मनमा रहेको जिज्ञासा के हुने हो भन्ने कुरा संशय त्यसलाई हटाउनुहोस् । बसेर छलफल गरौँला । किनभने कम्युनिस्ट पार्टीमा देखिएको रोग भनेको व्यक्तिवाद । यो व्यक्तिवादी रोग यो कम्युनिस्ट पार्टीका व्यक्तिवादी रोग बोकेका मान्छे सत्तामा पुग्छन् । उनीहरूमा अहंकार बढेर जान्छ । उनीहरूमा अधिनायकवादी प्रवृत्ति जागेर आउँछ ।

उनीहरूमा बदलाको भावना जागेर आउँछ । प्रतिशोध गर्ने प्रवृत्ति हुर्केर आउँछ र उनीहरू कहिलेकाहिँ त बुर्जुवाभन्दा पनि खत्तम हुँदा रहेछन्, अत्यन्तै फासिस्ट चरित्र ग्रहण गर्दा रहेछन् । यो व्यवहारले देखाएको छ । त्यसो हुनाले भन्छन् नि कम्युनिस्टहरू गनाएपछि साह्रै साह्रै खतम हुँदा रहेछ । तर त्यस्तो नहोस् । हामी चाहन्छौ सबै सुध्रियून् । हामी चाहन्छौँ सबै सही बाटोमा अगाडि बढौँ । गलत कुरालाई सुधारौँ ।

उनीहरूले सबैले विगतमा आफूबाट कमजोरी भएका छन् भने त्यसको उनीहरूले पुनरावलोकन गरून् । पुनरावलोकन गरून् कमी–कमजोरीलाई स्वीकार गर्ने आँट गरून् र नयाँ शिरामा अगाडि बढौँ । हामीले कसैप्रति कुनै आग्रह पाल्नुपर्ने छैन । तर सम्भावनाको कुरा गर्नुहुन्छ भने अहिले नेकपा माओवादी, एमालेसँग एकताको कुनै सम्भावना छैन । त्यहीँभित्रको हामी अवस्था देखिरहेका छौँ । त्यसो हुनाले त्यसप्रति कसैलाई लसपस कसैको छ भने आशाअपेक्षा ज्यादा छ भने मेरो भन्नु केही पनि छैन । तर यो पार्टीसँग उसको सम्बन्धको कुरा गर्नुहुन्छ भने उनका नेताहरूको अभिव्यक्तिले नै प्र्रस्ट पारिसकेको छ यो पार्टीलाई कसरी सिध्याउने यो पार्टीलाई कसरी समाप्त पार्ने अनि त्यसको निम्ति कुन–कुन तरिका अवलम्बन गर्ने ? कहाँ प्रहार केन्द्रित गर्ने ? यी सबै कुराहरू उनीहरूले भनिरहेको गरिरहेको कुराबाट पनि हामीले बुझिरहेका छौँ ।

त्यसो हुनाले कुनै पनि हिसाबको भ्रममा पर्ने काम नगर्नुस् । यस अर्थमा मैले भन्न चाहेको कुरा के हो भने यो पार्टीलाई बलियो बनाउनका लागि यो एकताको आजको एउटा महत्वपूर्ण परिघटनाले निकै राम्रो भूमिका खेलेको छ त्यसहुनाले जो–जो कमरेडहरू पार्टीमा समाहित हुनुभएको छ, उहाँहरूको योग्यता, क्षमता, रुचि र हाम्रो आवश्यकता यी सबैको आधारमा हामी जिम्मेवारी पनि दिनेछौँ ।
त्यो जिम्मेवारी सक्दो जिम्मेवारी लिनुस् । जिम्मेवारी लिइसकेपछि पुरा गर्ने काम गर्नुस् । पदचाहिँ ओगट्ने, जिम्मेवारी लिने तर पदानुकूलको आचरण नगर्ने समाजवादी अनुरूपको कर्तव्य पूरा नगर्ने काम नहोस् त्यसमा सबैले ध्यान दिनुस् । हिजोदेखिका नेता कार्यकर्ताको निम्ति पनि लागू हुन्छ, तपाईंं हाम्रो निम्ति पनि लागू हुन्छ, जोसुकैको निम्ति पनि लागू हुन्छ । विगतदेखि हामीले देखेका छौँ गर्नेले मात्रै गरेर देखाउँदो रहेछ गफ गर्नेले मात्रै केही गर्न सक्दो रहेनछ त्यसहुनाले गरेर देखाउने आँट गर्ने गर्नुहोस् ।

गर्न खोज्यौँ भने हिम्मतका साथ अगाडि बढ्यौँ भने संसारमा असम्भव भन्ने केही पनि छैन । गणतन्त्र ल्याउनका लागि, राजतन्त्र उन्मूलन गर्नका लागि त्यो बेलाको नेकपा एमालेभित्र कत्रो ठूलो बहस चलेको थियो । नेताहरूकै एउटा पंक्तिले कुनै पनि हालतमा गणतन्त्र नेपालमा आउन सक्दैन । राजतन्त्र ढाल्न सकिँदैन भनेका थिए ।
अरू कतिका खुट्टा कामेका थिए । उनीहरूमा त्यो आत्मविश्वास थिएन । तर हामीले आत्मविश्वास गर्‍यौँ ।

अगाडि बढ्यौँ । अरू पार्टीहरू तयार नभए पनि जब हामीले आमजनता तयार भएको देख्यौँ । परिस्थिति परिपक्व भएको पायौँ । त्यसपछि हामी हिम्मतका साथ अगाडि बढ्यौँ । नयाँ इतिहास नयाँ कृतिमान कायम गरेर देखायौँ । त्यसो हुनाले हामी त्यसको उत्तराधिकारी हौँ ।

त्यो उत्तराधिकारी भएको नाताले पनि तपाईंं हामीले क्रान्तिकारी स्पिरिटका साथ त्यो क्रान्तिकारी ध्येय र उद्देश्यका साथ अगाडि बढ्नुपर्छ र आजको यो दिनमा जसरी हामीले एकताको यो अभियानलाई नयाँ उचाइमा पुर्‍याउनका लागि अगाडि बढिरहेका छौँ ।

यसले निरन्तरता पाओस् अरू समूहलाई पनि ल्याउनका लागि अरू समूहलाई पनि आकर्षित गर्नका लागि यसले एउटा महत्वपूर्ण भूमिका खेल्न सकोस् भन्ने म शुभेक्षा व्यक्त गर्न चाहन्छु । यसै क्रममा एउटा कुरा भन्न चाहन्छु । पुष्पलाल स्मृति दिवसको सन्दर्भमा समाजवादी मोर्चाको तर्फबाट पनि कार्यक्रम हुन गइरहेको छ । त्यो कार्यक्रम पनि भव्य बनाउनुपर्नेछ हामीले । विशाल बनाउनुपर्नेछ हामीले ।

यस अर्थमा अरू सबै पार्टीहरू जो जो हामीसँग मिलेर अगाडि बढ्नेछन् । उनीहरूसँग पनि हामी त्यही ढंगले योजना बनाइरहेका छौँ । यसै क्रममा साम्राज्यवादको विरुद्धमा पनि १२ वटा समूहहरू मिलेर हामीले एउटा अभियान चलाइरहेका छौँ । त्यो १२ वटा वामपन्थीहरू एउटै ठाउँमा आएर अमेरिकी साम्राज्यवादको जस्तो किसिमको आक्रमक नीतिहरू देखिएको छ ।

प्यालेस्टाइनमाथि मात्रै होइन, त्यहाँका खाडी क्षेत्रका देशहरूमाथि जसरी उनीहरूले आक्रमक रवैया अपनाइरहेका छन्, अरू देशहरूमा पनि जसरी धाकधम्की देखाइरहेका छन्, व्यापार युद्ध गर्नलाई उद्यत रहेका छन्, अनि त्यसपछि युद्ध त्यसमा पनि द्वन्द्वलाई चर्काउनका लागि अनि आममानिसको नरसंहार गर्नका लागि जसरी अग्रसर भएका छन्, ती सबैको विरोध गर्दै विश्व शान्तिको लागि मानवको अधिकारको लागि राष्ट्रहरूको स्वाभिमानको रक्षाको लागि यी जसरी १२ वटा वामपन्थी शक्तिहरू एक ठाउँमा आएका छन् । त्यो अभियानलाई पनि हामीले अगाडि बढाउनु पर्ने हुन्छ ।

यी सबै कुराहरूको सन्दर्भमा अहिले देशमा जुन किसिमको शासन चलिरहेको छ, यसबाट जनता सन्तुष्ट छैनन् । यो यस्तो र महत्वपूर्ण समय विगतमा पनि आएको थियो । योभन्दा महत्वपूर्ण समय आएको थियो जब वामपन्थीले झन्डै दुईतिहाइ बहुमत हासिल गरेको किन त्यो सफल हुन सकेन ? कारण भनेको दम्भ ।

व्यक्तिवाद, संकीर्णता, सामूहिक छलफल नगर्ने प्रवृत्ति, आपसमा छलफल गरेर अनुभवको समीक्षा गर्न नचाहने, मै सबैथोक जान्दछु भन्ने प्रवृत्ति, अनि त्यसपछि आफूमा रहेको गलत सोच, गलत दृष्टिकोण, यी सबै कारणले गर्दाखेरि सही नीति, सही विचार, सही कार्यक्रम अवलम्बन गर्न सकिएन ।

फलस्वरूप र अझै नेपालको संविधानलाई नै मिचिनेजस्ता खालका कामहरू गरिए । संसद् विघटन गर्ने कामहरू गरियो र नेपालको राजनीतिलाई अर्कै दिशामा नकारात्मक दिशामा लिएर जाने कोसिस भयो । त्यो त्यस सिलसिलामा नै हामीले हिम्मत गर्‍यौँ । आँट गर्‍यौँ ।

आजभन्दा झन्डै चार वर्षपहिले आँट गर्‍यौँ र आँट गरेको हुनाले आज नेपालको राजनीतिमा अरू क्रान्तिकारी शक्ति उत्साहित बनाएको छ ।

तिनै पार्टी भित्रका योद्धाहरूलाई पनि वास्तवमा आशा जगाएको छ । त्यसो हुनाले हामीले जे काम गरेका थियौँ उचित गरेका थियौँ । अत्यन्तै आवश्यक काम गरेका थियौँ । त्यस कार्यमा हामी पूरै हामीले त्यसलाई सकारात्मक रूपमा लिएर हामीले त्यसको व्याख्या विश्लेषण गर्नुपर्छ ।