
काठमाडौं । आज साउने (कर्कट) सङ्क्रान्ति पर्व । प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्रचलन रहेको छ।
साउन महिनालाई विशेष रूपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रूपमा पनि लिइन्छ।
महिलाहरुले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गर्छन्।
साउन महिनामा विशेषगरी हरियो कपडा, चुरा बढी बिक्री हुने गरेको छ। यो महिनामा धेरै महिलाले हरियो र रातो पहिरन लगाउने गर्छन्।
तराई मा यो महिना भरी काँवरहरूले आफूले चिताएको शिवस्थलीमा पुगेर जल नचढाउन्जेल खुट्टामा चप्पल समेत नलगाई चोखोनितो दैनिकी ग्रहण गर्दै सामूहिक रूपमा यात्रा कोलागि आफूलाई तयार पार्ने गर्दछन् ।
काँवरका विभिन्न टोलीहरू काठ्माण्डौको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेव, महोत्तरीको जलेश्वरनाथ, बारा जिल्लाको कलैयास्थित शिद्धेश्वर महादेव तथा बारा जिल्लाकै काँट घाट धाम लगायतको विभिन्न शिवालयहरूमा काँवरहरूको ठुलो घूँइचो रहने गर्दछ ।
यस महिनामा अत्यन्त वर्षा हुने भएकोले यसलाई पावन भनिन्छ । यसै महिनाका विभिन्न तिथिमा रक्षा बन्धन, नाग पञ्चमी आदि थुप्रै महत्त्वपूर्ण चाडहरू पर्दछन् । यो भगवान् शिवको महिना हो, यसै कारणले यस महिनाको हरेक सोमबार अविवाहित महिलाहरूले व्रत बस्ने र राम्रो वर पाउने भनी शिवको आराधना गर्ने चलन पनि रही आएको छ ।
अधिकांश नेपाली असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरेका छन् ।
एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गर्ने गर्छन्। परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर ‘कण्डारक’ नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ।
लुतो फाल्दा आआफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ।










Facebook Comments