काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु हट्दा नागरिकलाई परेको कठिनाई सम्बोधन गर्दै नजिक प्रथम सेवा विन्दु नभएर सेवा लिन अप्ठ्यारा पर्ने स्थानहरूका केन्द्रीय सरकारी अस्पतालमा प्रथम विन्दु कायमै रहने गरी व्यवस्था मिलाएको जानकारी दिएका छन् ।

स्वास्थ्य बिमा व्यवस्थित गर्दै हरेक स्थानीय तहमा कम्तीमा एक प्रथम सेवा विन्दु सञ्चालन गर्ने नीतिअन्तर्गत प्रथम सेवा विन्दुका लागि उपयुक्त स्वास्थ्य संस्था नभएका तहमा स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नति गर्न प्रदेश सरकार र सम्बन्धित स्थानीय तहसँग समन्वय र सहकार्य गरी नागरिकलाई आफ्नै घरदैलोनजिकै स्वास्थ्य बिमा सेवा उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरे ।

ad

‘स्वास्थ्य बिमा कार्यक्रमलाई थप सुधार गर्दै नागरिकको पहुँच वृद्धिसँगै यसको दिगोपना र विस्तारका लागि हामी निरन्तर प्रयत्नशील छौँ,’ उनले भने, ‘यस कार्यमा तपाईंबाट प्राप्त सल्लाह र सुझाव सदैव स्वागत गर्दछौँ ।’