काठमाडौं– रुप्से होलिडेज प्रालिले एसीसी यु–१६ इस्ट जोन कप क्रिकेटमा नेपाललाई उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएका युवा क्रिकेटर सुशील रावललाई एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीले उक्त सहयोग रकमको चेक नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहमार्फत रावलका लागि हस्तान्तरण गरेका हुन् ।

ad

केही दिनअघि सामाजिक सञ्जालमार्फत क्रिकेटर रावलले आफूलाई खादा र माला होइन, भारतमा तालिममा जानका लागि आर्थिक सहयोग आवश्यक रहेको बताएका थिए । सोही सन्दर्भमा रुप्से होलिडेजले एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो ।

चेक हस्तान्तरण गर्दै प्रबन्ध निर्देशक पराजुलीले नेपाली क्रिकेटसँग जोडिन पाउनु गौरवको विषय भएको उल्लेख गरे ।
क्यानका उपाध्यक्ष सिंहले निजी क्षेत्रबाट क्रिकेट खेलाडीका लागि आएको सहयोग प्रशंसनीय भएको बताए ।