
ब्रिस्बेन, अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी २०२५–२०२७ कार्यकालको नेतृत्वका लागि सन्तोष कुँवरले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। जुलाई २६, २०२५ मा हुने निर्वाचनमा उनको उम्मेदवारीलाई बलियो समर्थन प्राप्त भएको छ, जसले उनलाई अध्यक्ष पदका लागि निश्चित उम्मेदवारको रूपमा स्थापित गरेको छ।
सन्तोष कुँवर, जो हाल एनआरएनए अष्ट्रेलियाको महासचिव (२०२३–२०२५) का रूपमा कार्यरत छन्, विगत एक दशकदेखि संस्थामा सक्रिय छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्ना अनुभव र भावी योजनाहरू प्रस्तुत गर्दै अष्ट्रेलियावासी नेपाली समुदायसँग समर्थन र सहयोगको अपील गरेका छन्। कुँवरले भने, "मैले संस्थालाई प्रविधिमैत्री, पारदर्शी र संस्थागत रूपमा सुदृढ बनाउन निरन्तर योगदान दिएको छु। अब अध्यक्षको रूपमा, म प्रवासी नेपाली समुदायको हितमा थप प्रभावकारी काम गर्न चाहन्छु।"
सन् २००९ मा विद्यार्थी भिसामा अष्ट्रेलिया आएका कुँवरले मास्टर्स डिग्री हासिल गरेपछि व्यवसायमा प्रवेश गरेका थिए। सन् २०१८ देखि उनले ब्रिस्बेनमा माइग्रेसन एजेन्टको रूपमा व्यवसाय सञ्चालन गर्दै आएका छन्। उनको सामाजिक र संस्थागत सेवाप्रतिको समर्पण र अनुभवले उनलाई एनआरएनए अष्ट्रेलियाको नेतृत्वका लागि बलियो दावेदार बनाएको छ।
उनले विशेषगरी प्रविधिको उपयोग, आर्थिक पारदर्शिता र नेपाली समुदायको सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने योजनाहरूमा जोड दिएका छन्। "हाम्रो समुदायको एकता र समृद्धिका लागि म सबैको साथ र सुझावको अपेक्षा गर्छु," उनले भने।
वर्तमान अध्यक्ष अनिल पोखरेलको नेतृत्वमा एनआरएनए अष्ट्रेलियाले उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै कुँवरले यो गतिलाई निरन्तरता दिँदै थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनको उम्मेदवारीलाई नेपाली समुदायका विभिन्न तहबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। संजीव ‘गोर्खाली’ ढकाल प्रतिस्पर्धी रहे पनि कुँवरले अत्याधिक मतका साथ जित निकाल्ने अष्ट्रेलियाका एनआरएन मतदाताहरु बताउँछन्।
निर्वाचन नजिकिँदै गर्दा कुँवरले समुदायका अग्रज, साथीभाइ र सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूसँग सकारात्मक सल्लाह र समर्थनको अपील गरेका छन्। उनले यो निर्वाचनलाई नेपाली समुदायको एकता र सशक्तीकरणको अवसरका रूपमा लिएका छन्।
यसपटक एनआरएन अस्ट्रेलियाको नयाँ विधान अनुसार अध्यक्ष, एक उपाध्यक्ष, महासचिव र कोषाध्यक्षका लागि निर्वाचन हुनेछ।
यसअघि हुँदै आएका राज्य संयोजक अब उपाध्यक्ष नहुने भएका छन्। उनीहरूलाई वरियतामा कोषाध्यक्षभन्दा तल राखिनेछ।
नयाँ विधानअनुसार एनआरएनए अस्ट्रेलियाका बोर्ड सदस्य १९ जनाको हुनेछ। यसअघि, १७ सदस्यीय बोर्ड रहने गरेकामा एक उपाध्यक्ष र प्रिन्सिपल ग्रान्ट अफिसर थप गरेर पदाधिकारीको संख्या १९ पुर्याउन लागिएको हो।









Facebook Comments