नेपाली कांग्रेसकी सांसद् प्रतिमा गौतमले देशले भोगिरहेको प्राकृतिक विपद्, कृषि संकट, भ्रष्टाचार र राजनीतिक नाटकबाजी भइरको भन्दै कडा टिप्पणी गरिन् ।

ad

मंगलबार संसदको विशेष समयमा सांसद गौतमले सरकारको कमजोर नीति, विपद् व्यवस्थापनमा सुस्तता र किसानका समस्याप्रति सरकार बेखवर भएको उल्लेख गरिन् ।

सांसद गौतमले देशमा बाढी, पहिरो र डुबानका कारण जनजीवन कष्टकर बनेको र दर्जनौं नागरिकको ज्यान गएको उल्लेख गर्दै सरकारको पूर्वतयारी र राहत-उद्धार कार्य सुस्त र असंगठित भएको आलोचना गरिन्। उनले प्रश्न उठाइन्, "हरेक वर्ष यस्ता संकट आउँदा राज्यको नीति, पूर्वतयारी र जोखिम न्यूनीकरण किन प्रभावकारी हुन सकेन? यो नीतिगत असक्षमता हो कि उपेक्षा?" उनले यो वर्ष २० लाख मानिस प्रभावित हुने अनुमान भए पनि सरकारको गम्भीरता नदेखिएको बताइन्।

देशको ६० प्रतिशत भन्दा बढी जनसंख्या कृषिमा आश्रित रहेको उल्लेख गर्दै गौतमले मल, बीउ र बजार व्यवस्थापनको अभावले किसान निराश भएको बताइन्। "मल आपूर्तिमा ढिलाइ र अनियमितता नियोजित देखिन्छ," उनले भनिन्, "किसानले उत्पादन गरे पनि बजार र न्यूनतम समर्थन मूल्यको अभावले उनीहरू पलायन हुने अवस्थामा छन्।" उनले प्राङ्गारिक मलको प्रयोगमा जोड दिन र किसानलाई सहुलियत दिन सरकारको प्रभावकारी नीति नभएकोमा आलोचना गरिन्। "कृषिमा आत्मनिर्भरताको नारा कागजी मात्र छ," उनले थपिन्।

गौतमले सरकारको "भ्रष्टाचारमा शून्य सहनशीलता" को नारा र वास्तविकता फरक रहेको भन्दै हालै सार्वजनिक भएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस सम्बन्धी अडियो प्रकरणलाई उठाइन्। उनले यो विषयले आम जनतामा प्रधानमन्त्रीको कथनी र करणीमाथि प्रश्न उठेको बताइन्। "यो छताछुल्ल भ्रष्टाचारको प्रमाण हो। प्रधानमन्त्रीले खरो रूपमा जवाफ दिनुपर्छ," उनले माग गरिन्।

सांसद गौतमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोहोरो चरित्रमाथि पनि प्रश्न उठाइन्। उनले रास्वपाका सभापति भिजिट भिसामा अमेरिका गएर बेपत्ता भएको, नागरिकता र सहकारी ठगी काण्डमा जोडिएको जस्ता विषयलाई उल्लेख गर्दै उनीहरूको संसद बहिष्कार र नाटकीय अभिव्यक्तिलाई "सस्तो लोकप्रियता" को संज्ञा दिइन्। "रास्वपाको एजेन्डा जनसेवा हो कि नाटक, षड्यन्त्र र चन्दा संकलन?" उनले प्रश्न गरिन्। उनले जेलबाट हस्ताक्षर संकलन र QR कोडमार्फत चन्दा उठाउने कार्यलाई "नक्कली अभियान" भन्दै यस्ता गतिविधिले लोकतन्त्रको नैतिकता र जनविश्वासमाथि खेलबाड गरेको आरोप लगाइन्।

सांसद गौतमले सरकारलाई विपद् व्यवस्थापन, कृषि संकट र भ्रष्टाचारमा गम्भीर बन्न आग्रह गर्दै संसदलाई जनताको आवाज उठाउने प्रभावकारी थलो बनाउनुपर्नेमा जोड दिइन्।