नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सीपयुक्त र सक्षम युवा नै समृद्ध राष्ट्र-निर्माणको प्रमुख आधारस्तम्भ भएको बताएका छन् । विश्व युवा दक्षता दिवसको अवसरमा प्राज्ञिक विमर्श समूहले लाजिम्पाट, काठमाडौँमा आयोजना गरेको 'युवा विमर्श' कार्यक्रममा उनले यस्तो धारणा राखे।

उनले संरचनात्मक बेरोजगारी र अवसर अभावका कारण ऊर्जाशील जनशक्ति विदेश पलायन हुनु राष्ट्रिय विकासको ठूलो चुनौती र नीतिगत असफलता भएको उल्लेख गरे। "सीपयुक्त अवसरको अभावमा मानवीय पुँजीको क्षयीकरणले हाम्रो भविष्य कमजोर बनाइरहेको छ," उनले भने, "यो गम्भीर यथार्थलाई बेवास्ता गर्न सकिँदैन।"

ad

महरले दक्षतालाई रोजगारीको माध्यम मात्र नभई आत्मनिर्भरता, उद्यमशीलता र राष्ट्रिय उत्पादकत्वको आधारका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए। यसका लागि राज्य, निजी क्षेत्र र नागरिक समाजको सहकार्यमा सुदृढ पारिस्थितिक प्रणाली आवश्यक भएको उनको भनाइ छ।

"कृषि, पर्यटन, सूचना प्रविधि र निर्माण जस्ता क्षेत्रमा मागमा आधारित सीपमूलक तालिम प्रदान गर्नुपर्छ," उनले भने, "यसले स्वदेशमै व्यावसायिक अवसर सिर्जना गरी युवाको ऊर्जा र क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्छ।"

नेपाली कांग्रेसभित्र "युवा सहभागिता, देशको आवश्यकता" अवधारणामा शिक्षा बहस सञ्चालन गर्दै आएका महरले विश्व युवा दक्षता दिवसले सीपयुक्त युवा निर्माण गरी समृद्ध राष्ट्र बनाउन राजनीतिक दल, सरकार र नागरिक समाजको संयुक्त प्रयासमा जोड दिए।