काठमाडौं । कास्की जिल्ला मालपोत कार्यालयको प्रमुखको सरुवा तथा थमौती मिलाइदिने भन्दै ५३ लाख रुपैयाँ माग गरेको र भूमि आयोगको सदस्य बनाउन २५ लाख रुपैयाँ घुस मागेको विचौलियासँगको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।

मन्त्री गुप्ताले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको उल्लेख गरेका छन् । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले गुप्तालाई बालुवाटारमै बोलाएर २४ घण्टाभित्र स्पष्टीकरण दिन र चित्त नबुझेमा राजीनामा दिन निर्देशन दिएका थिए ।

ad

गुप्ताले सामाजिक सञ्जालमा लेखेका छन्– ‘विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई बिदितै छ । कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजिनामा गरेको छु ।’

उनले आफूमाथि प्रविधिको उच्चतम प्रयोग गरी त्यसको शिकार भएको जनाएका छन् । ‘प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरु कोही पनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्ममा बिभिन्न रुपले आफूलाई सहयोग गर्नुहुनेहरुलाइ हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ उनले लेखेका छन्, ‘अब फेरि एकपटक देश र जनताप्रति थप जिम्मेवारीवोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निस्ठाको साथ पुरा गर्ने प्रतिबद्धताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।’