काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले तीन दिनदेखि चर्चामा रहेको घुस प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।

भूमि आयोग कास्कीका अध्यक्ष नियुक्ति र मालपोत कार्यालयका प्रमुखको थमौतीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र विचौलियाबीचको संवादमा अधिकारीको समेत नाम आएको थियो ।

ad

मन्त्री गुप्ताले उक्त प्रकरणमा अधिकारीले रकम लिइसकेको भन्दै अब उनले काम नगर्ने बताएका थिए । मन्त्री गुप्ता र बिचौलियाबीचको लेनदेनको अडियोमा उनीहरूकै विषय भन्दै अधिकारीले आफूलाई नजोड्न भनेका हुन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले भूमि आयोगको कास्की जिल्ला अध्यक्ष नियुक्तिको विषयमा अरु कसैले लेनदेनको कुरा गरेको आधारमा आफूलाई मुछिएको गुनासो गरेका हुन् ।

अधिकारीले हल्लाको आधारमा नभई तथ्यमा टेकेर सत्यको खोजी गर्न आग्रहसमेत गरेका छन् । भूमि आयोगका पदाधिकारी नियुक्तिमा घुसको डिल गरेको प्रमाण आए आफू कारबाही भोग्न तयार रहेको पनि उनले बताए ।

उनले भूमिसम्बन्धी विधेयकलाई छिटो पारित गर्न आग्रहसमेत गरेका छन् । गुप्ता र अधिकारी घुस डिलमा मुछिएको भन्दै अहिले दुवैजनाको राजनीनामा संसद्देखि सडकसम्म माग्न थालिएको छ ।