काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा सञ्चालित हस्ताक्षर संकलनमा आर्थिक सहयोग पनि मनग्य जुटेको छ ।

लामिछानेका एक सहयोगीका अनुसार अहिलेसम्म चन्दास्वरूप ४४ लाख रुपैयाँ संकलन भएको छ । उनले अरु पार्टीहरूले पनि विभिन्न स्वरूपमा चन्दा लिइरहेको तर आफूहरूले चन्दा लिएको विषयलाई विवादको विषय बनाउन खोजिएको बताए ।

ad

अहिलेसम्म २० लाखभन्दा बढी हस्ताक्षर संकलन भएको उनले जानकारी दिए । उनका अनुसार प्रदेशगत रूपमा नौ लाख ४० हजार हाराहारीको संख्यामा हस्ताक्षर संकलन भएको छ।

उनका अनुसार कोशीमा १ लाख ६६ हजार, मधेसमा ३६ हजार, बागमतीमा २ लाख १३ हजार, गण्डकीमा २ लाख ६० हजार, लुम्बिनीमा १ लाख ९७ हजार, कर्णालीमा ३८ हजार र सुदूरपश्चिममा २५ हजार हाराहारी हस्ताक्षर संकलन भएको छ ।’

विपक्षी मोर्चामा रहेका दलहरूले अदालतलाई प्रभावित पार्न खोजिएको, भनेर प्रश्न उठाएको भन्दै उनले अदालतको निर्णयलाई कुनै रूपमा प्रभावित नगरी हस्ताक्षर संकलन गरिएको दाबी गरे ।

सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने अहिले भैरहवा कारागारमा छन्। यसअघि गत असार ७ गते पार्टीको तेस्रो स्थापना दिवसको अवसर पारेर कारागारबाटै लामिछानेले २० पृष्ठ लामो एक अपिल जारी गरेका थिए।

त्यही अपिलमार्फत उनले हस्ताक्षर अभियानको घोषणा गरेका थिए। त्यही घोषणाअनुरूप रास्वपाले असार ९ गतेदेखि हस्ताक्षर अभियान जारी राखेको छ। हस्ताक्षर अभियानलाई कम्तीमा पनि १०० दिनसम्म पुर्‍याउने रास्वपाले जनाएको छ।