
काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा विलय हुने चर्चा पटकपटक चल्दै आए पनि बेलाबेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीले देखाएको ‘ललिपप’मा गौतम लोभिएका कारण रोकिँदै आएकोमा फेरि एकपटक शुक्रबार दुई पार्टीका अध्यक्षहरूले एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
रूपमा दुई पार्टीबीच एकता भनिए पनि सहमतिपत्रको व्यहोरा विश्लेषण गर्दा गौतम नेतृत्वको अभियान नेपाल नेतृत्वको एकीकृत समाजवादीमा विलय हुन लागेको स्पष्ट देखिन्छ । आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा दुई नेताले हस्ताक्षर गरेको सहमतिपत्रमा साउन २ गते एकता घोषणा गर्ने उल्लेख छ ।
दुई नेताले हस्ताक्षर गरेको सहमतिपत्रमा भनिएको छ, ‘नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष क. माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष क. वामदेव गौतमसहितका नेताहरूबीच छलफल हुँदा राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता रहेको र नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै नेकपा एकता राष्ट्रिय अभियान नेकपा (एकीकृत समाजवादी)मा एकताबद्ध हुने सहमति गरियो ।’
पटकपटक एमालेमा जान गौतमले खुट्टा उचाले पनि ओलीले रुचि नदेखाएपछि एमालेले बेवास्ता गरेको निष्कर्षमा पुगेका गौतम नेकपा एसमै जान तयार भएका हुन् । यसअघि पनि गौतमले पटकपटक एससँग एकता गर्ने सहमति गरेको भए पनि एमालेले गौतमलाई सम्मानजनक एकताको आश्वासन दिएपछि अन्तिम समयमा एकता भाँडिँदै आएको थियो । तर, एमालेले गौतमलाई एकताका लागि नभई एकीकृत समाजवादीमा जानबाट रोक्नका निम्ति मात्रै चाल चलेको गौतमको बुझाइ छ ।
बेलाबेलामा उनले सार्वजनिक रूपमा दिएका अभिव्यक्ति र अन्तवार्ताहरूमा यस विषयमा मुख खोल्दै आएका छन् ।
अहिले दुई पार्टीबीच एकताको सहमति भए पनि यसको मोडालिटीबारे दुवै पक्षले केही बोलेका छैनन् । यद्यपि गौतम तेस्रो वरीयतासहित एसमा समाहित हुन लागेको चर्चा छ । अहिले पार्टी एकता गर्ने सहमतिमा मात्रै हस्ताक्षर भएको र अरू विषयमा छलफल गर्दै जाने एकीकृत समाजवादीका उपाध्यक्ष गंगालाल तुलाधरले बताएका छन् । दुई पार्टी एकता भएको घोषणा साउन २ गते गर्ने सहमति भएको उनले जानकारी दिए ।
नेकपा विघटनपछि त्यसबेला प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले दुईपटक संसद् विघटनको प्रयास गरेपछि माधव नेपालको नेतृत्वमा नेकपा एस गठन भएको थियो । उक्त पार्टी गठनका लागि गौतमले नेपाललाई उक्साउँदै आए पनि पछि पदीय माग पूरा नभएपछि गौतम केही समय एमालेमै रोकिए । एमलेले पनि कुनै भूमिका नदिएपछि उनले एमालेबाट बाहिरिएर नेकपा एकता अभियान गठन गरेका थिए ।
त्यसबेला उपचारका सिलसिलामा भारतमा रहेका झलनाथ खनाललाई भने नेपालले ‘सम्मानीत नेता’को विशेष पद दिएर पार्टीमा समेटेका थिए । वामदेवले भाउ खोजेका कारण त्यसबेला उनीहरूबीच सहकार्य हुन सकेको थिएन । एकता अभियानले सोचेअनुरूप काम गर्न नसकेपछि गौतम एकीकृत समाजवादी र एमालेसँग समानान्तर रूपमा पार्टी एकताका निम्ति वार्तामा बस्दै आएका थिए ।
नेकपा एस गठन भएको केही महिनापछि गौतम र नेपालबीच पार्टी एकताबारे संवाद अघि बढेको थियो । त्यसबेला गौतमले एकताका लागि नेकपा (एकीकृत समाजवादी)सँग जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, संघीयता परिमार्जन गर्नुपर्नेलगायत चार सर्त राखेका थिए । आफ्नो सर्त पूरा भए एकीकृत समाजवादीमा लाग्ने गौतमको भनाइ थियो ।
एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने अन्यथा जबज छोडेर एकीकृत समाजवादीमा लाग्न नसकिने गौतमको भनाइ थियो । जबजलाई मार्गदर्शक सिद्धान्त मानेपछि एकीकृत समाजवादीको एजेन्डा कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने सर्त गौतमले अध्यक्ष नेपालसँग राखेका थिए ।
गौतमले संघीयता परिमार्जनको समेत प्रस्ताव राखेका थिए । संघीयता परिमार्जनको प्रस्ताव राखे पनि त्यसको मोडालिटीबारे भने उनीहरूबीच छलफल भएको थिएन । त्यसबेला अध्यक्ष नेपालले गौतमको सर्तबारे छलफल गर्न सकिने जवाफ दिएका थिए । जबज छोडेको भन्ने प्रचारमा सत्यता नरहेको नेपालले प्रस्टोक्ति थियो ।
अहिले दुई नेताबीच एकताको सहमति भए पनि गौतम कुन जिम्मेवारी लिएर नेकपा एसमा प्रवेश गर्न लागेका हुन् भन्नेमा धेरैको चासो छ । यस विषयमा नेकपा एसका उपाध्यक्ष गंगालाल तुलाधरले भने, ‘अहिले पार्टी एकता गरिहालौँ भनेर २ गतेको लागि समय तोकेका छौँ । बाँकी संगठनात्मक विषयमा छलफल छलफल गर्दै जाने सहमति भएको छ । एकतापछि पनि जिम्मेवारी लगायतको विषयमा छलफल हुन्छ ।’
उनले गौतमतर्फबाट आएको नेताहरूलाई पनि उचित जिम्मेवारी दिने बताए । गौतमलाई तेस्रो वरीयता दिएर पार्टीमा भित्र्याउने सहमति भएको अर्का एक नेताले बताए । उनले भने, ‘हामीले उहाँलाई अध्यक्ष र सम्मानित नेतापछि तेस्रो वरीयता दिने सहमति भएको छ । यो पत्रमा नखुलाइएको मात्रै हो । उहाँलाई वरिष्ठ नेता पद दिइन्छ ।’
अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनालपछि वरीयताको हिसाबमा गौतम हुने ती नेताले बताए । नेकपा एसमा अहिले वेदुराम भुसाल, प्रमेश हमाल र घनेन्द्र बस्नेत तीनजना वरिष्ठ नेता छन् । गौतमपछि चौथो वरीयतामा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे रहनेछन् ।
यसअघि ०८१ पुसमा पनि दुई दलबीच एकताको तयारी गरिएको थियो । अन्तिम चरणमा पुगेको भनिएकै बेला गौतम एउटा मात्रै पार्टीसँग मिल्नेभन्दा पनि अभियानलाई नै अघि बढाउने बताउँदै पछि हटेका थिए । त्यसो त केही नेताले वैचारिक, सैद्धान्तिक तथा सांगठनिक विषयहरू टुंगिएको भन्दै एकीकृत समाजवादीसँग माघको पहिलो हप्ताभित्रै एकता हुने दाबी गरेका थिए ।
त्यतिबेला एकीकृत समाजवादीसँग एकता गर्ने विषयमा छलफल गर्नुअघि वामदेवले नेकपा एमालेसँग एकता गर्ने भनेर छलफल अघि बढाए । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘भाउ’ नदिएपछि फेरि एकीकृत समाजवादीतिरै छलफलमा लागेका थिए ।
यसपटक साँच्चै एकीकृत समाजवादीसँग एकता हुन लागेको हो ? भन्ने प्रश्नमा उनले गौतमले भने, ‘यसपटक साँच्चै हो । केही मतभेद छैन । साउन २ गते सभागृहमा घोषणा हुन्छ ।’
एकीकृत समाजवादीमा कुन पद पाउने भनेर आफूले माग नगरेको उनको दाबी छ । एसका नेताहरूले सल्लाह गरेर जे उपयुक्त हुन्छ, त्यही गर्ने उनको भनाइ छ ।









Facebook Comments