
भक्तपुर । साविक बालकोट हाल सूर्यविनायक नगरपालिका वडा नं २ र ३ अन्तर्गत बालकोटमा बसोवास गर्दै आइरहेका विभिन्न पेसामा आबद्ध व्यक्तिहरूको संस्था ‘बालकोट बौद्धिक समाज’को दशौँ अधिवेशनबाट यस मिडिया प्रालिका कार्यकारी अध्यक्ष एवं प्रधानसम्पादक कबिर राणा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न समाजको अधिवेशनबाट राणाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिको उपाध्यक्षमा रवीन्द्र श्रेष्ठ, सचिवमा युवराज श्रेष्ठ, सहसचिवमा शंकरप्रसाद काफ्ले र कोषाध्यक्षमा डेजी बस्नेत रहेका छन् भने सदस्यहरूमा हरिकृष्ण श्रेष्ठ, प्रदीप कार्की, धर्मराज भुसाल, ललितकुमार कार्की, आशिष भण्डारी र पुरन न्यौपाने चयन भएका छन् ।
सर्वसम्मत नेतृत्व चयनपछि बोल्दै निवर्तमान अध्यक्ष भोलासिंह सिलवालले समाजले गरेको गतिविधिको बारेमा प्रकाश पारे । मूलतः काकाकुल अवस्थामा रहेको बालकोटमा केयुकेएलमार्फत मेलम्चीको पानी समाजकै पहलमा जोड्न सफल भएको बताए ।
त्यसैगरी नवनिर्वाचित अध्यक्ष राणाले पूर्वअध्यक्षहरूको पदचापलाई पछ्याउँदै बालकोटको विकास र समृद्धिका लागि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । साथै समाजमा देखिने सबै समस्याहरूको समाधानमा तीनै तहको सरकारसँग समन्वय गरी नेतृत्वदायी भूमिका निभाउने बताए ।









Facebook Comments