
काठमाडौं । देशमा राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयको नामबाट गरिने पत्राचारमा राजतन्त्रकालीन अवस्थामा झैँ ‘श्री ५ महाराजाधिराज’को नाममा सम्बोधन गर्ने क्रम नरोकेर संविधानले नचिनेको भाषा प्रयोग गरी संविधानविपरीतका गतिविधि गरेको आरोपमा प्रहरीले शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई पक्राउ गरी तीन सर्तमा कागज गराएर रिहा गरेको छ । प्रहरीले पाठकलाई झन्डै १२ घन्टाको केरकार र सोधपुछपछि साँझ ८ बजे रिहा गरेको हो ।
ज्ञानेन्द्र शाहलाई नेपालको संविधानले नचिनेको ‘श्री ५ महाराजधिराज’ भनी सम्बोधन गरिएको विषयमा सोधपुछ गर्न प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले पाठकसँग पूर्वराजालाई कुन कानुनका आधारमा श्री ५ महाराजाधिराज लेखेको भनी स्पष्टीकरण सोधेको थियो । पूर्वराजा शाहका नाममा उनको सचिवालयले जारी गर्ने गरेका लिखित सूचना, जानकारी तथा सन्देशहरूमा श्री ५ महाराजधिराज शब्द प्रयोग गर्दै पाठकले प्रचारप्रसार गर्दै आएका थिए ।
प्रहरीले पाठकलाई अब फेसबुकबाट यसरी सन्देशहरू सम्प्रेषण नगर्ने, पहिले पोस्ट गरिएका सबैखाले सन्देशहरू हटाउने र अबदेखि श्री ५ महाराजाधिराज भनेर विज्ञप्ति ननिकाल्ने सर्तमा परिवारको जिम्मा लगाई छाडेको हो ।
विभिन्न विज्ञप्तिमा पूर्वराजाको संवाद सचिवालयको लेटर हेडमा ‘श्री ५ महाराजधिराज’ लेखिनु नेपालको संविधान र संसद्को सर्वोच्चताको विरुद्ध भएको भन्दै संसद्मा समेत कुरा उठेको थियो । संसद्, संविधानको सर्वोच्चता, कानुनी राज्यको उपहास गर्ने पूर्वराजा ज्ञानेन्द्र र संवाद सचिव पाठकलाई कानुनी कारबाही गरिनुपर्ने माग केही सांसदहरूले गरेका थिए ।









Facebook Comments