
नेपाल उद्योग वाणिज्य महासंघले रसुवा जिल्लाको नेपाल–चीन सीमानामा मंगलबार बिहान गएको बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।
महासंघले यो प्राकृतिक विपदमा परेका व्यक्तिहरूको तत्काल उद्धार र जोखिममा रहेका बासिन्दाहरूको सुरक्षित बसोबासका लागि नेपाल सरकारसँग आग्रह गरेको छ। बाढी र पहिरोले नेपाल–चीन व्यापारको प्रमुख नाका र सुख्खा बन्दरगाहमा ठूलो क्षति पुर्याएको छ। साथै, त्यहाँ राखिएका इलेक्ट्रिक र मालवाहक सवारी साधनहरू बगाएको महासंघले जनाएको छ।
रसुवा उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमालय सीमापार वाणिज्य संघ, कन्टेनर ढुवानी संघ र नेपाल स्वतन्त्र यातायात मजदुर संघका पदाधिकारीहरूले महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठलाई भेटी क्षतिको विवरण बुझाउँदै तत्काल सहयोगका लागि पहल गरिदिन अनुरोध गरेका छन्।
महासंघले गृह मन्त्रालय र ल्हासास्थित नेपाली महावाणिज्य दूतावाससँग आवश्यक सहयोगका लागि अपिल गरेको छ। साथै, चीनतर्फ फसेका नेपाली नागरिकको उद्धारका लागि कूटनीतिक पहल र नेपालतर्फको उद्धार कार्यमा तीव्रता ल्याउन सरकारसँग अनुरोध गरेको छ।
वर्षायाममा बाढी र पहिरोको जोखिम उच्च हुने भएकाले सुरक्षित तवरले व्यापार–व्यवसाय गर्न महासंघले सम्पूर्ण उद्यमी–व्यवसायीहरूलाई आह्वान गरेको छ।









Facebook Comments