
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०८४ को आम निर्वाचनअघि पार्टीको १५औं महाधिवेशन निश्चित रूपमा हुने बताउँदै त्यसमा कुनै शंका नगर्न आह्वान गरेका छन्। सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै थापाले महाधिवेशनको कार्यतालिका चाँडै सार्वजनिक हुने जानकारी दिए।
महामन्त्री थापाले आगामी महाधिवेशन नयाँ उत्साह र ऊर्जासाथ सञ्चालन हुने प्रतिबद्धता व्यक्त गरे। “हामीले अबको केन्द्रीय कार्यसमितिको बैठकबाट महाधिवेशनको क्यालेन्डर प्रस्तुत गर्नेछौँ,” उनले भने। उनले महाधिवेशनअघि पार्टीका भातृ सङ्गठनहरूको अधिवेशन सम्पन्न गर्ने, शुभेच्छुक संस्थालाई सक्रिय बनाउने र सबै कार्यकर्तालाई जिम्मेवारी प्रदान गर्ने योजना सुनाए। साथै, पार्टीभित्र नयाँ अभियान सञ्चालन गरी एकताको सन्देश प्रवाह गर्ने उनको भनाइ छ।
थापाले महाधिवेशनको तयारीसँगै सरकारलाई थप प्रभावकारी बनाउन पनि ध्यान दिइने बताए। “हामी पार्टी र सरकार दुवैलाई सशक्त बनाउन प्रतिबद्ध छौँ। यसका लागि सबैको सहयोग र सहकार्य आवश्यक छ,” उनले भने। उनले महाधिवेशनसम्म आफूले महामन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निभाउने र त्यसपछि हुने परिवर्तनको निर्णय १५औं महाधिवेशनमा छाड्ने धारणा राखे।
अतीत सम्झँदै थापाले आफ्नो राजनीतिक यात्रा र जिम्मेवारीबारे चर्चा गरे। “ प्रदीप पौडेलले फकाएर नेविसंघको क्षेत्रीय सभापति बनेको थिएँ, त्यसपछि महामन्त्रीको जिम्मेवारी लिएँ। अब १५औं महाधिवेशनमा के हुन्छ, त्यो पछिको कुरा हो,” उनले भने। उनले महाधिवेशनसम्मको कार्यकालमा कुनै कमजोरी भएमा कार्यकर्तासँग क्षमा माग्दै सबैको साथ र समर्थनको अपेक्षा गरे।









Facebook Comments