
काठमाडौं । देशकै सबैभन्दा जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयको उपकुलपति निमित्तको भरमा चलेको तीन महिना बितेपछि उपकुलपति छनोट प्रक्रिया अगाडि बढेको छ ।
तत्कालीन उपकुलपति प्रा.डा. केशरजंग बरालले प्रधानमन्त्री ओलीले असहयोग र हस्तक्षेप गरेको कारण देखाई चैत १५ गते राजीनामा दिएपछि त्रिविका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २८ गते बरालको राजीनामा स्वीकृत गर्दै बैशाख २ गते शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई निमित्त उपकुलपति जिम्मेवारी दिएका थिए । त्रिवि ऐनमा तीन महिनासम्मका लागि निमित्त दिने कानुनी व्यवस्था छ ।
प्रधानमन्त्री ओलीले गत जेठ ६ गते नै सहकुलपति एवम् शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा ३ सदस्यीय उपकुलपति छनोट समिति गठन गरेकोमा हिजो आइतबार बसेको समितिको बैठकले तीन जनाको नाम सिफारिस गरेको छ । समितिले सिफारिस गरेका नामहरु आज प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओलीलाई बुझाएको छ । समितिले सिफारिस गरेका ३ जनाको नाम भने अहिले गोप्य राखिएको छ ।
त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १८ मा समितिको सिफारिसमा कुलपतिबाट उपकुलपतिको नियुक्ति गरिने उल्लेख छ । उपकुलपति बन्नको लागि एक दर्जनभन्दा बढीले आफ्नो बायोडाटा बुझाएको बताइएके छ ।










Facebook Comments