सुदूरपश्चिम प्रदेशमा लागेको डढेलो सिंहदरबारसम्मै फैलिने पक्का भएको छ । हो, नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रदेशमन्त्री बर्खास्तमा परेपछि सत्ता गठबन्धनसँग असन्तुष्ट रहेको नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने घोषणा गरेको छ ।

नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी अब संघ र प्रदेशका सबै तहमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने घोषणा गरेकी छन् । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरिएपछि उनले यो कदमलाई असंवैधानिक, अपमानजनक र दुर्भाग्यपूर्ण भन्दै कडा आपत्ति जनाएकी छन् ।

ad

सुदूरपश्चिममा मात्रै होइन, संघीय सरकारमा पनि नाउपाबाट एकजना राज्यमन्त्री छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका अरुण चौधरीलाई पनि राजीनामा गर्नका लागि पार्टीले निर्देशन दिइसकेको बुझिएको छ । उनले राजीनामा दिएसँग नाउपा अबको संसद् बैठक (२३ गते) प्रतिपक्षको बेन्चमा बस्ने बताइन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले बिहीबार मन्त्री रामेश्वर चौधरीलाई पावर टिलर वितरणमा अनियमितता गरेको आरोपमा बर्खास्त गरेका थिए । यो कदमलाई नाउपाले सत्ता घमण्ड र लोकतान्त्रिक मूल्यमाथिको अपमानको रूपमा लिएको छ । अध्यक्ष श्रेष्ठले मन्त्री चौधरीलाई कुनै औपचारिक संवाद, स्पष्ट कारण वा प्रक्रियाविना हटाइएको भन्दै यो कार्य संवैधानिक नभएको बताइन् ।

‘हाम्रो पार्टीका माननीय मन्त्रीलाई कुनै औपचारिक संवाद, कारण वा प्रक्रियाविना हटाइएको कार्य केबल असंवैधानिक होइन, अपमानजनक र अत्यन्त दुर्भाग्यपूर्ण छ,’ श्रेष्ठले भनेकी छन् । उनले यो कदमलाई सत्ता गठबन्धनको मनपरी र उत्पीडित समुदायको आवाज दबाउने प्रयासको रूपमा चित्रण गरेकी छन् ।

नाउपाले पार्टीभित्र व्यापक छलफल र संरक्षक रेशम चौधरीको मार्गदर्शनमा यो सैद्धान्तिक निर्णय लिएको पनि उनले बताइन् । श्रेष्ठका अनुसार, यो कदम जनताको म्यान्डेट, पार्टीको सम्मान र जननिर्वाचित प्रतिनिधिहरूको गरिमा संरक्षणका लागि हो । उनले भनेकी छन्, ‘हाम्रो सांसदहरू पार्टीको इज्जत हुन् । उनीहरूको बेइज्जती पार्टीको बेइज्जती हो । यो जनताको विश्वासमाथिको अवमूल्यन हो । अब हामी सदनमा प्रतिपक्षको भूमिकामा दृढताका साथ उभिनेछौँ ।’

नाउपाले असार २३ गतेदेखि संघीय संसद् र प्रदेश सभाहरूमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने तयारी गरेको छ । यो निर्णयले पार्टीको चार तहको प्रतिनिधित्व—संघीय संसद्मा ४ सांसद, मधेश प्रदेशमा १ सांसद, लुम्बिनी प्रदेशमा ४ सांसद र सुदूरपश्चिम प्रदेशमा ७ सांसद प्रतिपक्षी बेन्चमा बस्नेछन् ।

नागरिक उन्मुक्ति पार्टीले छोटो समयमै सुदूरपश्चिमको कैलाली जिल्लामा बलियो प्रभाव बनाएको छ । २०७९ को स्थानीय तह निर्वाचनमा कैलालीका चार पालिकामा जित हासिल गर्दै यो पार्टी जिल्लाको पहिलो दल बनेको थियो । त्यस्तै, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि कैलालीका ५ मध्ये ३ प्रतिनिधिसभा सिट र १० मध्ये ५ प्रदेशसभा सिट जितेर नाउपाले आफ्नो उपस्थिति बलियो बनाएको छ ।

पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित छिन् । उनले थारू समुदायको पहिचान र अधिकारका मुद्दालाई जोडदार रूपमा उठाउँदै आएकी छन् । यद्यपि, पार्टीभित्र रेशम चौधरी र रञ्जिता श्रेष्ठबीचको मतभेदले पनि समय–समयमा चर्चा पाउने गरेको छ ।

मन्त्री रामेश्वर चौधरीको बर्खास्तीले सुदूरपश्चिम प्रदेश सरकारको स्थायित्वमाथि प्रश्न उठेको छ । नाउपाले सुदूरपश्चिममा ७ सांसदसहित निर्णायक भूमिका खेल्दै आएको छ । यसअघि पनि नाउपाले गठबन्धनमा असन्तुष्टि जनाउँदै समर्थन फिर्ता लिने चेतावनी दिएको थियो । हालैको यो निर्णयले प्रदेश सरकारको भविष्य थप अनिश्चित भने बनेको छ ।

अध्यक्ष श्रेष्ठले सुदूरपश्चिममा गठबन्धनको नीति र नैतिकतामाथि प्रश्न उठाउँदै भनेकी छन्, ‘हामी संघमा जुन गठबन्धनमा छौँ, सुदूरपश्चिममा पनि त्यही गठबन्धनमा रहनुपर्छ भन्ने नैतिकता हो । तर, हाम्रा मन्त्रीलाई अपमानजनक तरिकाले हटाइयो ।’

नाउपाले सङ्घीय सरकारलाई लिएको समर्थन फिर्ता लिएको छ । नाउपा संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

ओली नेतृत्वको सरकारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा नाउपाका अरुण चौधरी छन् । पार्टी सरकारबाट बाहिरिने निर्णय गरेसँगै राज्यमन्त्री चौधरीले पनि राजीनामा बुझाउने तयारी गरेका छन् ।

संरक्षक रेशम चौधरी र अध्यक्ष रन्जिता श्रेष्ठको निर्देशन लगत्तै प्रधानमन्त्रीसमक्ष राजीनामा दिने तयारी गरिएको उनले बताए । ‘हामीले सरकारबाट बाहिरिने निर्णय गरिसकेका छौँ । मैले राजीनामा पत्र तयार गरिसकेको छु ’ उनले भने ‘संरक्षकज्यू र अध्यक्षज्यूको निर्देशन आएलगत्तै प्रधानमन्त्रीज्यूलाई पत्र बुझाउँछु ।’

समर्थन फिर्ताको निर्णय आज संसद् सचिवालयका दर्ता गराउने तयारी भइरहेको संसदीय दलका नेता गङ्गा चौधरीले जानकारी दिए ।

नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको भन्दै अब पार्टी प्रतिपक्षमा बस्ने जानकारी गराइन् । उनले आजै राज्यमन्त्री चौधरीले राजीनामा बुझाउने समेत बताइन् । ‘हिजो समर्थन फिर्ता लिएको विषय आज औपचारिक रूपमा संसद् सचिवालयका दर्ता हुन्छ’ उनले भनिन् ‘त्यसपछि हामी प्रतिपक्षमा बस्छौ । हाम्रो मन्त्री ज्यूले आजै राजीनामा दिनुहुन्छ ।’

भोलि प्रतिनिधि सभाको बैठक छ । उक्त बैठकमा नाउपा प्रतिपक्षमा बस्ने गरी आज सभामुखलाई जानकारी गराइने उनले बताइन् ।

बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नाउपाको तर्फबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री भएका रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपाले सङ्घ र प्रदेशमा आफ्नो समर्थन फिर्ता लिने घोषणा गरेको थियो । मन्त्री चौधरीमाथि आर्थिक अनियमितता गरेको भन्दै अख्तियारले छानबिन गरिरहेको छ ।

सुदूरपश्चिम प्रदेशका शुक्रवार समर्थन फिर्ता लिएको नाउपाले शनिवार सङ्घीय सरकारबाट बाहिरिने निर्णय गरेको हो । लुम्बिनी प्रदेशमा भने अझै समर्थन फिर्ता लिने निर्णय भएको छैन। सङ्घ र प्रदेशमा नाउपाले समर्थन फिर्ता लिँदैमा सरकारमा तत्काल असर पर्ने देखिँदैन ।

यसअघि मधेशकेन्द्रित दल उपेन्द्र यादवको जनता समाजवादी पार्टीले सरकारले दिएको समर्थन फिर्ता लिने बताएको थियो । तर, अहिलेसम्म संसदीय दलको बैठकबाट औपचारिक निर्णय लिएको छैन ।