काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएका सैद्धान्तिक, राजनीतिक, व्यावहारिक र सांस्कृतिक विचलनहरूलाई हटाएर मूल आदर्श र वर्गमुक्तिको लक्ष्यमा फर्कन रूपान्तरण अभियान सुरु भएको बताएका छन् । पार्टीका केन्द्रीय सल्लाहकार कृष्णलाल गोजा श्रेष्ठको श्रद्धाञ्जली सभामा उनले कम्युनिस्ट आन्दोलनको आदर्शबाट पछिल्लो समय विचलन भएको स्वीकार गर्दै पार्टीले आफ्नो आधारभूत वर्गप्रति समर्पित भएर पुनर्जागरणको बाटो समातेको बताए ।

श्रद्धाञ्जली सभामा प्रचण्डले माओवादी आन्दोलनमा देखिएको संकटलाई खुलेर स्वीकारे । उनले भने, ‘कम्युनिस्ट पार्टी स्थापना हुँदा जनताको सेवा, वर्गमुक्ति र समर्पणको आदर्श हाम्रो मूल आधार थियो । जनयुद्ध र जनआन्दोलनका बेला त्यो भावना प्रबल थियो । तर, आजभोलि पद र स्वार्थका लागि तँछाडमछाडको अवस्था छ । सैद्धान्तिक र व्यावहारिक विचलनले हाम्रो लक्ष्य कमजोर भएको छ ।’ उनले पार्टीको हालैको केन्द्रीय समिति बैठकमा यी विषयमा गम्भीर समीक्षा भएको र रूपान्तरणको खाका कोरिएको बताए ।

ad

यो अभिव्यक्ति केवल पार्टीको आन्तरिक समीक्षामात्र नभई माओवादी आन्दोलनको सान्दर्भिकता र विश्वसनीयतामाथि उठेको प्रश्नको जवाफ खोज्ने प्रयास हो । जनयुद्धको बलिदानी र आदर्शलाई पुनर्जनन गर्ने प्रचण्डको यो घोषणाले कार्यकर्ता र समर्थकहरूमा उत्साह जगाए पनि व्यावहारिक चुनौतीहरू भने कायमै छन् ।

माओवादी केन्द्रले विगतमा जनयुद्ध र जनआन्दोलनमार्फत सामाजिक–आर्थिक रूपान्तरणको एजेन्डा बोकेको थियो । तर, शान्ति प्रक्रियापछि सत्तामा सहभागी हुँदा धेरै कार्यकर्ता र नेताहरूमा व्यक्तिगत स्वार्थ र सत्ताको लोभ बढेको आलोचना हुने गरेको छ । प्रचण्डको यो अभिव्यक्तिले पार्टीभित्रै व्याप्त ‘सत्तावादी विचलन’लाई स्वीकार गरेको देखिन्छ ।

माओवादी केन्द्रको रूपान्तरण अभियानका लागि ठूला चुनौतीहरू छन् । पहिलो, पार्टीभित्रै नेतृत्व र कार्यकर्ताबीच वैचारिक एकरूपता कायम गर्नु । दोस्रो, जनताको विश्वास पुनः प्राप्त गर्नु । विगतमा सत्तामा रहँदा भएका कमजोरी र भ्रष्टाचारका आरोपले माओवादीको छवि धमिलिएको छ ।