
काठमाडौं । नेपाली कांग्रेसले सोमबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको छ ।
आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
केन्द्रीय कार्यसमिति बैठकमा मुख्य रूपमा गठबन्धनको सरकारका साथै भातृसंस्थाका विषयमा छलफल हुने उनले बताए । केन्द्रीय कार्यसमितिमा केन्द्र सरकारमा रहेका मन्त्रीहरूका साथै प्रदेश सरकारमा सहभागी भएकाहरूले सरकारका कामकारबाहीका बारेमा जानकारी गराउने एजेन्डा तय भएको प्रवक्ता महतले जानकारी दिए ।
उनले क्रियाशील सदस्यता वितरणका बारेमा समेत महामन्त्रीले जानकारी गराउने तय भएको उल्लेख गरे ।
त्यस्तै, तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाका तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने भन्नेमा निर्णय लिने बताइएको छ ।









Facebook Comments