
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीको कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन पुनर्विचार गर्ने निष्कर्ष निकालेपछि यो निर्णय भएको हो ।
जसपा नेपालका नेता प्रकाश अधिकारीका अनुसार पार्टीले संघीय सरकार र अन्य प्रदेश सरकारलाई दिएको समर्थनबारे पनि छलफल गरिरहेको छ । कार्यकारिणी समितिले संसदीय दललाई संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय लिन निर्देशन दिएको छ । उनले भने, ‘संसदीय दलको आगामी बैठकमा समर्थन पुनर्विचारबारे छलफल हुनेछ ।’ यद्यपि, संसदीय दलको बैठक कहिले बस्ने भन्ने टुंगो लागिसकेको छैन ।
प्रतिनिधिसभामा जसपा नेपालका ५ सांसद छन् । हाल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग १९२ सांसदको समर्थन छ, जसमध्ये १८८ जनाले ६ साउन २०८१ मा विश्वासको मत दिएका थिए । यो दुई तिहाइभन्दा बढी हो । यदि जसपा नेपालले समर्थन फिर्ता लिएमा सरकारको समर्थन संख्या ५ ले घट्नेछ । प्रतिनिधिसभामा यसले कुनै पनि असर नगरे पनि राष्ट्रिय सभामा जसपा नेपालको समर्थन फिर्ताले सरकारलाई थप चुनौती भने थपिन सक्छ ।
५९ सदस्यीय राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, नेकपा एमालेका १०, एकीकृत समाजवादीका ८, जसपा नेपालका ३, लोकतान्त्रिक समाजवादीका १, राष्ट्रिय जनमोर्चाका १ र ३ मनोनित सांसद छन् । जसपा नेपालको समर्थन नहुँदा सत्तापक्षको सांसद संख्या प्रतिपक्षको भन्दा कम हुन सक्छ, जसले सरकारको विधेयक पारित गर्न कठिनाइ पर्न सक्छ ।
जसपा नेपालका नेता उपेन्द्र यादवले उपयुक्त समयमा संसदीय दलको बैठक बोलाएर समर्थन फिर्ताबारे अन्तिम निर्णय लिने बताउँदै आएका छन् ।









Facebook Comments