
नेपाली कांग्रेसको भोलि सोमबार बस्ने केन्द्रीय समिति बैठकलाई लिएर पार्टीभित्र तीव्र विवाद देखिएको छ । लामो समयपछि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकमा भ्रातृ संस्थाको अधिवेशन र क्रियाशील सदस्यता नवीकरणका विषयले नेताहरूबीच घम्साघम्सी हुने देखिएको हो ।
कांग्रेसका १३ मध्ये मुख्य भ्रातृ संस्थाहरू नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघलगायत सात भ्रातृ संस्थाले वर्षौंदेखि महाधिवेशन गर्न नसकेपछि तिनको तदर्थ समिति भंग गर्ने कि म्याद थप्ने भन्नेमा नेताहरूका बीचमा विवाद छ । सभापति शेरबहादुर देउवा पुराना समितिलाई समय दिएर महाधिवेशन गराउनुपर्ने पक्षमा छन् भने महामन्त्री गगन थापा यस्ता समितिहरू भंग गर्नुपर्ने अडानमा छन् । प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘कोही भंग गर्नुपर्छ भन्छन्, कोही समय दिएर महाधिवेशन गराउनुपर्छ भन्छन् । यो विषयमा ठोस निर्णय लिन आइतबार बिहान सभापति देउवाको बूढानीलकण्ठ निवासमा पदाधिकारी बैठक बस्दै छ ।’
पार्टीको १५औँ महाधिवेशनको मिति तय गर्नुपर्ने समय नजिकिए पनि क्रियाशील सदस्यता नवीकरणको विवाद टुंगिएको छैन । गगन थापा नेतृत्वको समितिले असार मसान्तसम्म सदस्यता टुंग्याउन निर्देशन दिएको थियो, तर धेरै जिल्लामा यो काम पूरा हुने देखिएको छैन । यसले विधानअनुसार महाधिवेशन समयमै नहुने लगभग पक्का छ ।
संस्थापनइतर समूह र केही संस्थापन पक्षका नेताहरूले महाधिवेशन समयमै नहुने शंका व्यक्त गरिरहँदा सभापति देउवाले भने यो कुरालाई खण्डन गरेका छन् । शुक्रबार चितवनमा उनले भने, ‘कांग्रेसको महाधिवेशन समयमै हुन्छ, नहुने भन्ने झुटा कुरा हुन् ।’ तर, विधानअनुसार तेस्रो कार्यकाल सभापति बन्न नपाउने भएकाले देउवाले महाधिवेशन ढिलो गरी आफूअनुकूल बनाउन खोजेको आशंका इतरपक्षले गर्दै आएको छ ।
बैठकमा नेकपा एमालेसँगको सत्तागठबन्धनको एकवर्षे कामको समीक्षा पनि हुने भएको छ । प्रवक्ता महतले सरकारको काम अपेक्षाकृत नभएको र मन्त्रीहरूको कार्यसम्पादनमा पनि प्रश्न उठेको बताए ।
म रिटायर्ड हुन लागेँ : देउवा
चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू राजनीतिबाट अवकाश लिने समय नजिकिएको बताउँदै पार्टीभित्र एकता कायम गरी कांग्रेसलाई बलियो बनाउने एकमात्र इच्छा रहेको बताएका छन् । चितवनमा आयोजित प्रजातन्त्र सेनानी स्वर्गीय गौरीदेवी प्रधानको सातौँ दिनको पुण्यतिथि श्रद्धाञ्जलीसभामा उनले पार्टीभित्रको गुटबन्दीप्रति चिन्ता पनि व्यक्त गर्दै भने ‘टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ । यो हाम्रो पार्टीको रोग हो,’ देउवाले भने, ‘हामी एक भएर अघि बढ्ने हो भने कांग्रेसले एक्लै बहुमत ल्याउन सक्छ । म रिटायर्ड हुन लागेको छु, तर मेरो अन्तिम चाहना यो पार्टीलाई एकताबद्ध र बलियो बनाउने हो ।’
देउवाले पार्टीभित्र एकता भएमा कांग्रेसले आगामी निर्वाचनमा अन्य दलहरूसँग गठबन्धन गर्न नपर्ने र एक्लै बहुमत ल्याउन सक्ने विश्वास व्यक्त गरे । ‘यो पार्टीकै कारण म सभापति भएँ, पटक–पटक प्रधानमन्त्री भएँ । अब मेरो उद्देश्य कांग्रेसलाई देशभर बलियो बनाउनेमात्र हो,’ उनले थपे । सभापतिलाई समानुपातिक र समावेशी प्रतिनिधित्वसहितको वर्तमान संविधान उत्कृष्ट भएको बताए । उनले संविधानले मुलुकमा समावेशी लोकतन्त्रलाई सुदृढ गरेको उल्लेख गरे ।
यसैबीच, नेपाली कांग्रेसले ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय परिसरलाई थप व्यवस्थित र फराकिलो बनाउन १९ आना जग्गा खरिद गरेको छ । पार्टीका मुख्य सचिव पौडेलका अनुसार, कार्यालय अगाडिको १९ आना (एक रोपनी तीन आना तीन पैसा) जग्गा र त्यसमा रहेको तीन तले घर खरिद गर्ने निर्णय भएको हो । उक्त जग्गा र घर ललितपुर निवासी अमिर मान अमात्यको स्वामित्वमा थियो ।
असार ११ गते महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा धनीसँग खरिद सम्झौता भएको छ । सम्झौताअनुसार, एक वर्षभित्र जग्गा पास गर्ने गरी ५० लाख रुपैयाँ बैना प्रदान गरिएको छ । उक्त जग्गा र घर १३ करोड रुपैयाँमा खरिद गरिएको जनाइएको छ ।
पार्टीले यो रकम विभिन्न तहको लेबी र शुभेच्छुकहरूको सहयोगमार्फत जुटाउने योजना बनाएको छ ।
नेपाली कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालयलाई व्यवस्थित, सुविधासम्पन्न र कार्यकर्तामैत्री बनाउन यो कदम चालेको बताएको छ । कार्यालय परिसरको विस्तारले पार्टीका गतिविधिहरूलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।









Facebook Comments