काठमाडौं । बर्खामा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको संख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा–जोमसोम हवाई उडान दुई महिनासम्मका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

उक्त रुटमा नियमित उडान भर्दै आइरहेको तारा एअरलाइन्सको ट्विनेटर जहाजले यही असार २ गतेदेखि दुई महिनाका लागि उडान स्थगित गरेको कम्पनीका जोमसोम स्टेसन इन्चार्ज सुजन लालचनले जानकारी दिए ।

ad

उनका अनुसार ताराले अब आगामी सेप्टेम्बरको पहिलो सातादेखि उडान पुनः सञ्चालन गर्नेछ ।

‘हवाई यात्रु कम भएको र मौसम प्रतिकूलताका कारण तारा एअरलाइन्सले उडान स्थगित गरेको हो, नयाँ याम सुरु भएपछि उडान सुरु हुन्छ,’ उनले भने ।

समिट एअरलाइन्सले पनि उक्त रुटमा यही असार २० गतेदेखि दुई महिनाका लागि हवाई उडान बन्द गर्ने जनाएको छ । जोमसोमस्थित समिट एअरलाइन्सका स्टेसन इन्चार्ज सुमन थकालीले एक हप्तापछि दुई महिनाका लागि पोखरा–जोमसोम हवाई उडान बन्द गर्ने निर्णय भएको जाकारी दिए ।

‘अहिले यस रुटमा हवाई उडान दैनिक मुस्किलले एउटा मात्रै भएको छ, हवाई यात्रु पनि घट्दै गएका छन्,’ उनले भने ।

जोमसोम नागरिक उड्डयन कार्यालयले मनसुन सुरु भएसँगै हवाई यात्रुको घटेको जनाएको छ । कार्यालयका प्रमुख दीपक पोखरेलका अनुसार हाल पोखरा–जोमसोमका लागि तारा एअरले उडान स्थगित गरेको र समिट एयरले पनि केही दिनमा स्थगित गर्ने जनाएको बताए ।

बर्खायाम सुरु भएसँगै हवाईमार्ग मात्रै होइन, सडकमार्गबाट जोमसोम आउने यात्रु पनि घटेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले बताए ।