काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार विशेष अदालतमा उपस्थित भएका छन्। पतञ्जली जग्गा हिनामिना प्रकरणमा मुद्दा दायर भएपछि अध्यक्ष नेपाल पहिलो पटक अदालत उपस्थित भएका हुन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध १८ करोड ५८ लाख ५० हजार विगो माग गरिएको छ।

ad

नेपालसहित तत्कालीन कानुन तथा न्याय मन्त्री संयोजक प्रेमबहादुर सिंह,तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री स्व. डम्बर श्रेष्ठ र उनका छोरा सन्तोष श्रेष्ठ,तत्कालीन मुख्य सचिव स्व.माधव प्रसाद घिमिरे र निजको श्रीमती कमला घिमिरे,भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त,सहसचिवहरू जीतबहादुर थापा र लिलामणि जोशी,कलानिधी पौडेललगायतलाई प्रतिवादी बनाइ आयोगले जेठ २२ गते विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

२०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई आयुर्वेदिक विश्वविद्यालयको नाममा सञ्चालन गर्न काभ्रेमा हदबन्दी छुटमा ८ सय १५ रोपनी जग्गा किन्न स्वीकृति दिएको थियो।

तर, पछि हदबन्दीभन्दा बढी कानुनविपरीत जग्गा बिक्री गरेको भन्दै उजुरी परेपछि अख्तियारले यसबारे अनुसन्धान अघि बढाएको थियो। अख्तियारले भ्रष्टाचार मुद्दा दायर भएसँगै एकीकृत समाजवादीका सांसद नेपालको पद निलम्बनमा परेको छ।

पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालले गैरकानूनी तवरबाट प्राप्त गरेको हदभन्दा बढी जग्गा भूमि सम्बन्धी ऐन, २०२१ को दफा ११ बमोजिम जफत तथा सरकारी सार्वजनिक कायम हुने जग्गा बेचविखन तथा सट्टापट्टा सम्बन्धी प्रस्ताव नेपाल नेतृत्वको मन्त्रिपरिषद्मा ठाडो प्रस्तावको रुपमा पेश गरे गराएको देखिएको अख्तियारको दावी छ।