
काठमाडौं । पाँच महानगरले बजेट प्रस्तुत गर्दा काठमाडौं महानगरपालिकाको बजेट रोकिएको छ । ७ सय ५३ पालिकामध्ये ६ वटा महानगर छन् ।
विराटनगर, वीरगन्ज, ललितपुर, भरतपुर र पोखरा महानगरले बजेट ल्याएका छन् । तर संघीय राजधानी रहेको काठमाडौं महानगरको बजेट आन्तरिक विवादका कारण तोकिएको समयमा हिजो प्रस्तुत हुन नसकेको हो ।
संघीय सरकारका केही मन्त्रालयको भन्दा बढी बजेट चलाउने काठमाडौं महानगरको बजेटका बारेमा आम चासो हुने गर्छ ।
काठमाडौं महानगरको नगरसभा लामो समयदेखि बस्न सकेको छैन । नगरसभा बस्न नसकेको र बजेट प्रस्तुत हुन नसकेको सन्दर्भमा महानगरले आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
संघीय सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृत र मेयर बालेन शाहका बीचमा केही असमझदारी छ ।
महानगरको नीति तथा कार्यक्रम र बजेटकाबारेमा सम्बद्ध पदाधिकारीका बीचमा छलफल नै हुन सकेको छैन ।
यस्तै, देशका अन्य केही पालिकाले पनि नीति तथा कार्यक्रम प्रस्तुत गर्न नसकेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयको बजेट पोर्टलमा ७ सयभन्दा धेरै पालिकाको बजेट प्रविष्ट भएको छ ।
संवैधानिक प्रावधानअनुसार स्थानीय सरकारले असार १० गते बजेट आ–आफ्नो सभामा प्रस्तुत गर्ने प्रावधान छ ।









Facebook Comments