
काठमाडौं । इरानका परमाणु केन्द्रहरूमा सफल सैन्य कारबाही गरेको बताएलगत्तै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेहरानको सत्ता नेतृत्वमा परिवर्तनको सम्भावनाबारे संकेत गरेका छन्। राष्ट्रपति ट्रम्पले अहिलेको इरानी सरकारले इरानलाई महान् बनाउन नसके सत्ता परिवर्तन हुनुपर्ने बताएका छन्।
उनले सामाजिक सञ्जाल ट्रुथमा लेखेका छन्, ‘ सत्ता परिवर्तनको शब्दको प्रयोग राजनीतिक रूपमा बेठीक भए तापनि इरानको वर्तमान सरकार इरानलाई फेरि महान् बनाउन असमर्थ छ भने किन परिवर्तन नहोस्।’
यद्यपि, आइतबार भएको एक पत्रकार सम्मेलनमा अमेरिकी रक्षामन्त्री पिट हेगसेथले भने इरानका आणविक केन्द्रमाथिको आक्रमण सत्ता परिवर्तनका लागि नभएको स्पष्ट पारेका थिए। उनले भने, ‘यो मिसन सत्ता परिवर्तनका लागि थिएन र अहिले पनि त्यस्तो कुनै उद्देश्य छैन।’
त्यस्तै, अमेरिकी उपराष्ट्रपति जेडी वेन्सले पनि आइतबार एबीसी न्युजसँग कुरा गर्दै भनेका थिए, ‘हामीलाई सत्ता परिवर्तन चाहिएको होइन। हाम्रो पहिलो प्राथमिकता भनेको इरानको आणविक कार्यक्रमलाई अन्त्य गर्नु हो।’
अमेरिकाले शनिबार राति इरानका फोर्दो, नतान्ज र एस्फाहन परमाणु केन्द्रमा बम आक्रमण गरेको थियो ।









Facebook Comments