
काठमाडौं । देशकै सबैभन्दा जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयको उपकुलपति निमित्तको भरमा चलेको तीन महिना बित्न लागिसक्दा पनि उपकुलपति छनोट प्रक्रिया अगाडि बढ्न सकेको छैन । तत्कालीन उपकुलपति प्रा.डा. केशरजंग बरालले प्रधानमन्त्री ओलीले असहयोग र हस्तक्षेप गरेको कारण देखाई चैत १५ गते राजीनामा दिएपछि त्रिविका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २८ गते बरालको राजीनामा स्वीकृत गर्दै वैशाख २ गते शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका थिए । त्रिवि ऐनमा तीन महिनासम्मका लागि निमित्त दिने कानुनी व्यवस्था छ ।
प्रधानमन्त्री ओलीले गत जेठ ६ गते नै सहकुलपति एवं शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट समिति गठन गरेको भए पनि अहिलेसम्म समितिको बैठक बस्न सकेको छैन । त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १८मा समितिको सिफारिसमा कुलपतिबाट उपकुलपतिको नियुक्ति गरिने उल्लेख छ ।
उपकुलपति बन्नका लागि एक दर्जनभन्दा बढीले आफ्नो बायोडाटा बुझाउँदै विभिन्न शक्तिकेन्द्रहरूलाई खुसी बनाउन दौडधूप गरिरहेको समाचारस्रोतले जनाएको छ । उपकुलपतिका लागि वर्तमान निमित्त उपकुलपति प्रा.डा. खड्ग केसी, मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति उपेन्द्र कोइराला, त्रिविका पूर्वरजिस्ट्रार डिल्ली उप्रेती, मदन भण्डारी विश्वविद्यालयका पूर्वअध्यक्ष राजेन्द्रध्वज जोशी लगायत लालायित छन् ।
देशको उच्च शिक्षाको झन्डै ८० प्रतिशत भार थेग्दै आएको त्रिविको उपकुलपति लामो समयसम्म निमित्तको भरमा चलाउन नहुने प्राध्यापकहरू बताउँछन् । निमित्त उपकुलपतिले दैनिक कामकाज सञ्चालन गर्न सक्ने, तर नीतिगत तथा दीर्घकालीन महत्वका निर्णय गर्न नसक्ने भएकाले त्रिविमा शैक्षिक, प्रशासनिक र आर्थिक समस्याहरू बढ्दै गएकाले उपकुलपति नियुक्तिमा ढिलाइ गर्न नहुने प्राध्यापकहरूको भनाइ छ । उपकुलपति नभएकै कारण त्रिविको वार्षिक नीति तथा कार्यक्रम तथा बजेट बनाउने काम समेत प्रभावित बन्न पुगेको छ ।
५ वटा अध्ययन संस्थान, ४ वटा संकाय, ४० विभाग, ६४ आंगिक क्याम्पस भएको त्रिविका देशभरि रहेका एक हजार एक सय ५२ वटा सम्बन्धन प्राप्त क्याम्पसमा करिब पाँच लाख विद्यार्थी अध्ययनरत छन् । देशकै पुरानो र ठूलो विश्वविद्यालयको नेतृत्व गर्ने व्यक्ति सबै सरोकारवालासँग समन्वयकारी भूमिका निर्वाह गर्नसक्ने, प्राज्ञिक तथा प्रशासनिक दक्षता भएको हुनुपर्ने देखिन्छ ।
मापदण्ड र आधार तय गर्दै पारदर्शी ढंगबाट चाँडै नै त्रिविको उपकुलपति नियुक्त गरिनुपर्ने आवाज उठिरहेको छ । यस अगाडि त्रिवि उपकुलपति नियुक्तिमा आवेदन माग गरेर सिफारिस समितिअन्तर्गत विज्ञ समिति गठन गरी आवेदकको व्यक्तिगत योग्यता, सोचपत्र, कार्ययोजना मूल्यांकन गरी उच्च अंक ल्याउने तीनजनाको नाम सिफारिस गरिएको थियो । सिधै नियुक्ति गर्ने कि खुला प्रक्रियाबाट गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको शिक्षा मन्त्रालय निकट स्रोतले जानकारी दिएको छ ।









Facebook Comments