काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता रहेको बताएका छन् । यस्तो बाध्यता संविधान र ऐन कानुनका कारण आइपरेको उनको भनाइ छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै १७ दिनसम्म संसद अवरोध गरेको माओवादी केन्द्रले सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेसँग दुईबुँदे सहमति गर्दै अवरोध खुलाउन राजी भएपछि पार्टीभित्रैबाट आलोचना खेपिरहेको छ ।

ad

यसै सन्दर्भमा मंगलबार बिहान चितवनस्थित निजी निवासमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘प्रतिपक्षको हिसाबले हामी कमजोर छौँ । तर पनि हामीले संविधानको निम्ति, ऐन कानुनको निम्ति, सिस्टमको निम्ति सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता छ ।’

बजेट माथिको छलफलका लागि संसद्को अवरोध हटाउनु परेको उनको भनाइ थियो । संसद् अवरोध खुलाउन गरेको दुईबुँदे सहमतिलाई प्रचण्डले माओवादी जिम्मेवार ढंगले प्रस्तुत भएको भनेर व्याख्या गरे ।

‘यदि तपाईंहरुले यो कुरालाई गहिरो गरी विचार गर्नुभयो भने माओवादी कति गम्भीर र जिम्मेवार ढंगले चलेको रहेछ भनेर बुझ्न सजिलो हुन्छ,’ प्रचण्डले भने, ‘तपाईंहरुले परम्परागत आँखाले, चलनचल्तीको हिसाबले मात्रै हेर्नुभयो भने के गर्‍या होला, भन्न पनि सकिन्छ ।’