काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलसँग भएको दुई बुँदे सहमति पालना नभए फेरि विरोधमा उत्रिने चेतावनी दिएका छन् ।

शनिबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सदनबाट केही महत्त्वपूर्ण ऐन पारित गर्नुपर्ने भएकोले जिम्मेवार प्रतिपक्षको रुपमा सहमतिमा जानुपरेको उल्लेख गरे । सदन अवरोधले मात्र निकास निस्कने नदेखेपछि सहमतिका साथ अगाडि बढ्न खोजेको प्रचण्डले प्रष्ट्याए ।

ad

“अहिले हामीले एकातिर संघीय निजामती ऐन छिटोभन्दा छिटो पारित गर्नुपर्नेछ, लाखौँ शिक्षकहरुको मागअनुसार विद्यालय शिक्षा ऐनलाई अन्तिम रूप दिनुपर्ने छ । टीआरसीसँग सम्बन्धित कयौँ विषय अगाडि बढाउनुपर्नेछ,’ उनले भने, ‘यस्तो बेलामा सदन अवरोधले मात्र निकास ननिस्कने भएकोले सहमतिमा गएका हौँ ।’

पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाको मुद्दासँग गृहमन्त्रीको राजीनामा साट्यो भन्ने आरोपलाई उनले ठाडै इन्कार गरे । भने, ‘यो वाहियात कुरा मानिसहरूले प्रचार गर्ने गर्‍या छन् । त्यस्तो केही होइन । भिजिट भिसा प्रकरण र अग्नि सापकोटाको कुनै साइनो सम्बन्ध छैन ।’