काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अन्य जनसंगठनमा जस्तै अनेरास्ववियुमा पनि टीका लगाएर नेतृत्व चयन गर्न निर्देशन दिएपछि अखिलमा तीव्र असन्तुष्टि चुलिएको छ ।

पार्टीको पटक–पटकको हस्तक्षेपको अखिलका केही नेताहरूले खुलेर विरोध गरेका छन् । आज कीर्तिपुरमा उद्घाटन हुने अनेरास्ववियुको २४औँ महाधिवेशन अगाडि नै गत ११ जेठमा बसेको एमाले सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेसँगै १५ जना पदाधिकारी नेतृत्व पंक्तिबाट बाहिरिनुपरेको छ ।

ad

महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीबाट भएको हस्तक्षेपलाई लिएर अखिलका केही नेताहरूले आक्रोश पोखेका छन् । पार्टी अध्यक्ष ओलीले अखिलमा पनि सर्वसम्मत नेतृत्व चयनका लागि दबाब दिँदै आएका छन् । यसअगाडि भएका अन्य जनसंगठनहरूमा पनि ओलीले सर्वसम्मतिबाट नेतृत्व चयन गर्न निर्देशन दिए पनि केही संगठनमा भने चुनाव नै भएको थियो । अखिलमा पनि सर्वसम्मतिबाट नेतृत्व चयन हुने सम्भावना निकै कम देखिएको छ ।

केही दिनअघि पार्टीको जनसंगठन समन्वय संयन्त्रका इन्चार्ज भानुभक्त ढकालसहित अखिलका पूर्व तथा वर्तमान अध्यक्षलगायतका पदाधिकारीलाई बोलाएर अध्यक्ष ओलीले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । एमालेले अखिलको उमेर हद लगाउने निर्णय गरेपछि हालका उपाध्यक्षहरू नारायण घर्ती, धर्म गिरी, मर्यादा विष्ट र गोविन्द गिरी, महासचिव नरेश रोकाया तथा सचिवहरू मनोज ताम्ली, सञ्जीव धिताल, आशिर्वाद सुवेदी, विनिता काफ्लेलगायत अखिलबाट बाहिरिनुपरेको छ ।

उमेर हदका कारण १५ जना पदाधिकारी बाहिरिए पनि ३२ वर्ष ननाघेका केही विद्यार्थी नेताहरू अखिलको अध्यक्षको प्रतिस्पर्धामा उत्रिने तयारी गरिरहेका छन् । सचिवहरू दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, अञ्जना सिवाकोटी र सुजन कडरियाले अध्यक्ष पदमा आकांक्षा राखेका छन् ।

३२ वर्षमुनिका र नियमित विद्यार्थीले मात्रै अखिलको कमिटीमा बस्न पाउने प्रावधान पार्टीले लागु गरेपछि केही केन्द्रीय सदस्यहरूले समेत अध्यक्षमा उठ्ने तयारी गरेका छन् । जसले गर्दा अध्यक्षमा प्रतिस्पर्धीको संख्या अझ बढ्न सक्ने अनुमान छ ।

एमालेको जनसंगठनको नौजना पदाधिकारीको संख्यासहित केन्द्रीय कमिटीमा सचिवालय र केन्द्रीय कमिटी गरी दुई तहको मात्रै संरचना रहने एमालेको परिवर्तित नीतिमा उल्लेख छ । केन्द्रीय कमिटीको आकार १५१ सदस्यीय हुनेछ ।