
कैलाली । जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय चालु आवको प्रथम १० महिनामा पाँच सय ४९ नयाँ उद्योग दर्ता भएका छन् ।
उक्त कार्यालयका सूचना अधिकारी शर्मिला बस्नेतका अनुसार एक सय १२ उत्पादनमूलक, दुई सय चार कृषिमूलक, दुईवटा पर्यटनमूलक, दुईवटा सूचना प्रविधि र २२९ सेवामूलक घरेलु तथा साना उद्योग दर्ता भएका हुन् ।
जिल्लामा हालसम्म घरेलु तथा साना उद्योग दर्ताको संख्या १६ हजार आठ सय ४६ पुगेको छ । दर्ता भएकामध्ये उत्पादनमूलक तीन हजार ५१८, कृषिमूलक सात हजार ३६, निर्माणमूलक दुई, पर्यटनमूलक ६८, सूचना प्रविधका १४ र सेवामूलक ६ हजार २०८ उद्योग रहेका उनले बताए ।
चालु आवको सोही अवधिमा स्थानीय व्यापारअन्तर्गत वाणिज्यसम्बन्धी ५३२ वटा फर्म दर्ता भएका छन् ।
वाणिज्य,आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयले २०८० पुस १ गते स्थानीय व्यापारतर्फका हस्तान्तरण गरेका तथा त्यसयता उक्त कार्यालयमा दर्ता भएका गरी वाणिज्यतर्फका फर्मको संख्या २५ हजार एक सय २७ पुगेका उनले जानकारी दिए ।
चालु आवमा दुई सय ३६ वटा घरेलु तथा साना उद्योग र वाणिज्यतर्फका तीन सय १४ गरी पाँच सय ५० वटा फर्मको लगतकट्टा गरिएको सूचना अधिकारी बस्नेतले जानकारी दिए ।
कार्यालयले चालु आवको उक्त अवधिमा एक करोड ४६ लाख एक हजार ५७३ रुपैयाँ राजस्व संकलन गरेको छ ।
महिला, दलित र अपांगता भएका व्यक्तिलाई नयाँ उद्योग दर्ता, नवीकरणमा छुटको व्यवस्था भएकाले पछिल्लो समय उद्योग दर्ता गर्नेको संख्या बढ्दै गएको उनले बताए । गत आवमा सात सय १४ घरेलु तथा साना उद्योग र वाणिज्यतर्फ तीन सय एक फर्म दर्ता भएका थिए ।
गत आवमा एक करोड ७७ लाख ४४ हजार ७७७ रुपैयाँ राजस्व संकलन भएको थियो ।









Facebook Comments