
काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध परेको ज्यान मुद्दासम्बन्धी उजुरीमा अनुसन्धान गर्न आदेश गरेको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेमी, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको संवैधानिक इजलासले बुधबार उत्प्रेषण आदेश जारी गर्दै रोकिएको प्रक्रियामा अनुसन्धान अघि बढाउन आदेश गरेको हो ।
पूर्वसभामुख सापकोटाविरुद्ध काभ्रेका ४८ वर्षे अर्जुन लामालाई अपहरण गरी हत्या गरेको आरोपमा लामाकी पत्नी पूर्णिमायाले ०६४ सालमा काभ्रे जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गरेकी थिइन् ।
सशस्त्र द्वन्द्वकालको मुद्दासँग जोडिएको यस मुद्दामा प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि पूर्णिमायाले सर्वोच्चमा रिट निवेदन दायर गरेकी थिइन् ।
सर्वोच्च अदालतबाट ०६४ फागुन २७ मा पूर्णिमायाको रिट निवेदनमा जाहेरी दर्खास्त दर्ता गरी कानुनबमोजिम अरू कारबाही गर्नू भन्ने आदेश भएको थियो ।
आदेशको लिखित आउन बाँकी रहेको सर्वोच्च अदालतले जनाएको छ ।









Facebook Comments