
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट आधारभूत सिद्धान्त, मूल्यमान्यता र सीमालाई पालना गरी निर्माण गरिएको दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शनिबार गरेको छलफलमा उनले राजस्व लक्ष्य मिहिनेतले पूरा गर्न सकिने, आन्तरिक ऋण राष्ट्रिय वित्त आयोगको सुझावअनुसार राखिएको र अन्तरराष्ट्रिय सहयोगको सीमालाई ध्यान दिएको उल्लेख गरे । बजेट प्रभावकारी कार्यान्वयनले आर्थिक वृद्धिदर हासिल गर्न सकिने, सहकारी क्षेत्रको समस्या समाधान र युवालाई नवप्रवर्तनमार्फत प्रोत्साहन गर्ने उनको दाबी छ ।
पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट विगतको निरन्तरता भएको र आर्थिक वृद्धिदर बढाउने ठोस कार्यक्रम नदेखिएको टिप्पणी गरे । उनले स्रोत व्यवस्थापन, वैदेशिक लगानी र युवा रोजगारीमा बजेट कमजोर रहेको बताए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले बजेट कार्यान्वयनमा अन्तरमन्त्रालय समन्वय सुधारिएको र युवालक्षित कार्यक्रमले प्रोत्साहन दिने विश्वास व्यक्त गरे ।
निजी क्षेत्रका प्रतिनिधिहरूले बजेटलाई सकारात्मक मानेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रविधि, पर्यटन र नेपालीलाई विदेशमा लगानीको अवसरलाई ऐतिहासिक भने । नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष कमलेशकुमार अग्रवालले विकासमुखी र महत्वाकांक्षी बजेटको प्रशंसा गर्दै पुनःकर्जा व्यवस्थाको सुझाव दिए । अन्य निजी क्षेत्रका नेताहरूले पनि बजेटले उद्योग, कृषि, ऊर्जा र पर्यटनलाई प्राथमिकता दिएकोमा स्वागत गरे ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बजेट महत्वाकांक्षी तर भड्किलो नभएको बताए । अर्थविद् रमेश पौडेलले शिक्षा र स्वास्थ्यमा थप विनियोजन आवश्यक रहेको औँल्याए । नाफिजकी अध्यक्ष मेनुका कार्कीले बजेट कार्यान्वयनमा निजी क्षेत्रको सहयोग जरुरी रहेको बताइन् । सरकारले जेठ १५ मा रु १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरेको थियो ।









Facebook Comments