
सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान गरेको छ। बिहीबार प्रतिनिधिसभाको बैठकमा आर्थिक सर्वेक्षण २०८१/८२ प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले यो जानकारी दिएका हुन्।
चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान छ। मधेस, कोशी र सुदूरपश्चिम प्रदेश बाहेक अन्य प्रदेशहरूको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशतभन्दा माथि रहेको छ। बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.१८ प्रतिशत हुने अनुमान छ।
फागुन मसान्तसम्म सङ्घीय खर्च ४.७ प्रतिशत र सङ्घीय राजस्व १२.६ प्रतिशतले वृद्धि भएको छ। सङ्घीय सरकारको वित्त घाटा १६ अर्ब १९ करोड रुपैयाँ रहेको छ, जुन गत वर्षको तुलनामा कम हो। तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ।
वस्तु निर्यात ५७.२ प्रतिशत र आयात ११.२ प्रतिशतले बढेको छ। विप्रेषण आप्रवाह ९.४ प्रतिशतले वृद्धि भई १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। वैकल्पिक ऊर्जासहित ९९ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको छ भने कुल जडित विद्युत् क्षमता ३,६०२ मेगावाट र सडकको कुल लम्बाइ ३६,१३२ किलोमिटर पुगेको छ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सङ्ख्या ३७ लाख ६ हजार ३८९ छ। सार्वजनिक संस्थानहरूको कुल सम्पत्ति २.२० प्रतिशतले वृद्धि भई २९ खर्ब १० अर्ब १७ करोड रुपैयाँ पुगेको छ। ४५ संस्थानहरूमध्ये २८ नाफामा, १५ घाटामा र २ बन्द अवस्थामा छन्।
नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,५१७ अमेरिकी डलर पुगेको अनुमान छ। सरकारले दिगो र समावेशी आर्थिक वृद्धिका लागि नीतिगत सुधार र लगानी वृद्धिमा जोड दिएको छ।









Facebook Comments