अठारौं गणतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका छन्। उनले गणतन्त्रको सही अभ्यासमार्फत नागरिकलाई सवल र सक्षम बनाउन सबै पक्षले इमान्दार प्रयत्न गर्नुपर्नेमा जोड दिएका छन्।

ad

डा. कोइरालाले सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै भनेका छन्, "गणतन्त्रको शासकीय स्वरूप सहितको लोकतान्त्रिक प्रणालीको सही अभ्यासका आधारमा नागरिकलाई हरकोणबाट सवल र सक्षम बनाउन हामीबाट इमान्दार प्रयत्न हुन जरूरी छ।"

उनले गणतन्त्रको उद्देश्य नागरिकको सशक्तिकरण, समान अवसरको सुनिश्चितता, तथा समाजमा न्यायको अनुभूति गराउनेतर्फ केन्द्रित हुनुपर्ने बताए। कोइरालाका अनुसार हाल देशमा व्याप्त निराशा, असन्तुष्टि र अविश्वासका भावनालाई सकारात्मक सत्कर्म र सहकार्यबाट मात्रै चिर्न सकिन्छ।

“नागरिकमा व्याप्त नैराश्यतालाई हाम्रा सत्कर्मले चिर्दै आपसी विश्वास र सहकार्यको वाताबरण निर्माण गरी न्याय र समानताको अनुभूति गर्नसक्ने समाज निर्माणको पथमा हिँड्न गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा दिनेछ भन्ने मेरो विश्वास छ,” सन्देशमा उल्लेख गरिएको छ।

गणतन्त्र दिवसले विगतका संघर्षहरूको स्मरण गर्नुका साथै लोकतान्त्रिक मूल्य र मान्यता प्रति जनउत्तरदायी बन्ने जिम्मेवारी निर्वाह गर्ने प्रेरणा दिनुपर्ने कोइरालाको धारणा छ।

संविधानसभामार्फत घोषणा गरिएको गणतन्त्रको स्थायित्व र सुदृढीकरणका लागि सबै तह र वर्गको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उनले राजनीतिक दलहरूलाई समावेशी र उत्तरदायी बन्न पनि आग्रह गरे।

नेपालले २०६५ साल जेठ १५ गते गणतन्त्र घोषणा गरेपछि हरेक वर्ष यो दिनलाई राष्ट्रिय उत्सवको रूपमा मनाइँदै आएको छ। देशभर विभिन्न कार्यक्रमहरूका साथ १८ औं गणतन्त्र दिवस आज मनाइँदैछ।