काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारको प्रदर्शनका दुई आयोजकलाई छुट्टाछुट्टै समय उपलब्ध गराएको छ ।

एकै दिन, एकै स्थान रत्नपार्कमा कार्यक्रम तय भएपछि दुई समूहका लागि छुट्टाछुट्टै समय निर्धारण गरिएको हो ।

ad

जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकमा एमालेको कार्यक्रम दिउँसो २ बजेसम्ममा सक्ने र त्यसपछि सोही स्थानमा राजावादीहरूले कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो ।

दुवै पक्षसँग समन्वय गरेपछि जिल्ला सुरक्षा समितिको बैठकले सोही अनुसारको सुरक्षा योजना बनाएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताए।

१५ जेठलाई एमालेले गणतन्त्र उत्सवको रुपमा मनाउँदै छ भने राजावादीहरूले राजतन्त्र पुनर्स्थापना, संघीयता खारेज, हिन्दूराज्य पुनर्स्थापनालगायतको माग राख्दै प्रदर्शन आयोजना गरेका छन् ।

एमालेले गणतन्त्रका पक्षमा सांस्कृतिक कार्यक्रम गर्ने भन्दै सुरक्षा व्यवस्थाका लागि प्रशासनमा निवेदन दिएको थियो।

राजावादीहरूले सात ठाउँबाट र्‍याली निकाल्ने तयारी गरेका छन्। हरेक प्रदेशबाट छुट्टाछुट्टै र्‍याली निकाल्ने र हरेक र्‍यालीको नेतृत्व शीर्ष नेताले गर्ने राप्रपाको योजना छ।