नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सभापति निवासमा भएको पदाधिकारी बैठक आफ्नो बारेमा मात्रै केन्द्रीत रह्यो भन्ने सुन्दा अचम्म लागेको बताएका छन् ।

"मलाई लागेको थियो सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा होला, भर्खरै प्रधानमन्त्रीले १५ गते काठमाडौं कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनका बारेमा छलफल होला तर कुरा त मेरै बारेमा मात्रै भएछ।" - कोइरालाले भने ।

ad

कोइरालाले देशको सर्वोच्च पदमा बसेको मान्छेले गैर-राजनीति र मुठभेडको भाषा बोल्दा समेत कांग्रेसले यसबारेमा आधिकारिक रुपमा कहिंकतै नबोलेकोमा आफूलाई छक्क लागेको बताए ।

कोइरालाले प्रधानमन्त्री व्यक्ति मात्रै नभएर संस्था पनि भएको भन्दै त्यो पदमा बस्ने मान्छेले बोल्ने हरेक कुराले अर्थ राख्ने बताए ।

बिराटनगरमा आयोजित कांग्रेसको शुभेच्छुक संगठन नेपाल नाई संघको राष्ट्रिय परिषद उदघाटन गर्दै कोइरालाले भने- "के बाध्यता आइपर्यो त्यस्तो प्रधानमन्त्रीले जे जे गरे पनि कांग्रेसले छुट दिंदै जाने ?"- कोइरालाले प्रश्न गरे ।

पछिल्ला दिनमा कांग्रेसले आफ्नो सैद्धान्तिक मौलिकता बिर्संदै गएकोमा चिन्ता समेत व्यक्त गरे ।