काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा उत्पन्न राजनीतिक तथा आर्थिक संकट समाधानका लागि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बताए ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित जनसेवा नेपाल मोर्चासँगको एकता समारोहमा अध्यक्ष नेपालले कम्युनिष्ट आदर्श तथा मूल्यमान्यतालाई अवलम्बन गर्ने दल तथा वामपन्थी शक्तिहरूसँग आफ्नो पार्टीले सहकार्य तथा एकता गर्ने विषय प्राथमिकतामा राखेको उल्लेख गरे ।

ad

मुलुकमा विभिन्न समयमा कम्युनिष्ट पार्टीमा आएको सैद्धान्तिक विचलनले सामाजिक न्याय तथा आर्थिक रुपान्तरण हुन नसकेको बताउँदै अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरुले विगतका कमजोरीलाई सच्याएर देश विकास तथा जनताका अधिकार संरक्षणका लागि लाग्नुपर्नेमा जोड दिए ।

एकीकृत समाजवादीले मूलधारको कम्युनिष्ट सिद्धान्तलाई अवलम्बन गरेको विचार व्यक्त गर्दै उनले सिद्धान्त, नीति तथा कार्यक्रमका आधारमा वामपन्थी शक्ति एकताबद्ध गर्न आफूहरुले देशभर राजनीतिक अभियान सुरु गरेको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सबै प्रकारका विभेद तथा उत्पीडनको अन्त्य, व्यक्ति तथा मानव समाजको विकासका लागि वैज्ञानिक समाजवाद कार्यान्वयनमा जोड दिँदै समाजवादको अभ्यासले श्रमजीवी वर्गको अधिकार, जनसहभागिता, सामाजिक न्याय, समान अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे ।

यसैबीच सविन पुलामी नेतृत्वको जनसेवा नेपाल मोर्चा एकीकृत समाजवादीमा समाहित भएको हो । उक्त कार्यक्रममा वरिष्ठ नेता प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष जगन्नाथ खतिवडा, उपमहासचिव रामकुमार भट्टराई, सचिव मेटमणि चौधरीलगायले उनीहरूलाई स्वागत गरे ।