
काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) लाई आफ्नै वेब पोर्टलबाट सदस्यता खोल्न अनुरोध गरेको छ।
सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिद्वारा २०२५ मे ३-४ मा काठमाडौँमा आयोजित एकता महाधिवेशनबाट निर्वाचित महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले यो आग्रह गरेको हो।
एनआरएनए आइसीसीका महासचिव बाबुराम (बिआर) लामाले आइतबार एक विज्ञप्ति जारी गर्दै भने, "हालसम्म हाम्रो मातहतमा सदस्यता सूचना प्रणाली (एमआइएस) उपलब्ध नभएकाले सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) लाई आफ्नै वेब पोर्टलबाट सदस्यता खोल्न अनुरोध गरिएको छ। आफ्नै वेब पोर्टल नभएका एनसीसीहरूलाई आइसीसीको वर्तमान कार्यसमितिले सहजीकरण गर्नेछ।"
परराष्ट्र मन्त्रालयले महेशकुमार श्रेष्ठ नेतृत्वको आइसीसीलाई आधिकारिक मान्यता दिँदै सबै कूटनीतिक नियोगहरूलाई पत्राचार गरिसकेको छ। साथै, सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयलाई मुद्दाको लगत कट्टा गर्न पत्र पठाइसकेको छ। महासचिव लामाले कुनै पनि भ्रममा नपर्न आग्रह गरेका छन्।
सर्वोच्च अदालतको परमादेश कार्यान्वयन र परराष्ट्र मन्त्रालयको मान्यतापछि महेशकुमार श्रेष्ठ नेतृत्वको आइसीसी नै गैरआवासीय नेपालीहरूलाई प्रतिनिधित्व गर्ने एकमात्र मान्यताप्राप्त संस्था भएको विज्ञप्तिमा उल्लेख छ। उक्त कार्यसमितिबाहेक अन्य कसैले एनआरएनएको नाममा पत्राचार गरेमा त्यो अनधिकृत हुने पनि स्पष्ट पारिएको छ।









Facebook Comments