काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अन्य जनसंगठनमा जस्तै राष्ट्रिय युवा संघमा पनि टीका लगाएर नेतृत्व चयन गर्न निर्देशन दिएपछि संघमा भाँडभैलो मच्चिएको छ । शुक्रबारदेखि पोखरामा जारी राष्ट्रिय युवा संघको १०औँ महाधिवेशनको क्रममा आज आइतबार सहमतिका नाममा पार्टीका नेताहरूले संघको पदाधिकारी र सदस्यहरूको सूची पढ्नसक्ने सम्भावना छ ।

संघमा वर्तमान अध्यक्ष क्षितिज थेवे अधिवेशनबाट नेतृत्वमा फेरि दोहोरिने चाहना राखेका छन् भने महासचिव सुमन पुरी, उपाध्यक्षहरू कृष्णहरि केसी, प्रकाश गौतम र महाराज गुरुङले पनि अध्यक्षमा आकांक्षा देखाइरहेकै अवस्थामा पार्टी अध्यक्ष ओलीले संघमा सर्वसम्मत नेतृत्व चयनका लागि दबाब दिएका हुन् ।

ad

महाधिवेशन सुरु हुनुभन्दा केही दिनअगाडि पार्टीको जनसम्पर्क संयन्त्र प्रमुख भानुभक्त ढकालसहित संघका पूर्वअध्यक्ष र वर्तमान अध्यक्षलगायत पदाधिकारीहरूलाई बोलाएर अध्यक्ष ओलीले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । ओलीले वर्तमान अध्यक्ष थेवेलाई नै सर्वसम्मत गराउन पार्टीका केही नेताहरूलाई निर्देशनसमेत दिएको समाचारस्रोतले जनाएको छ ।

अध्यक्ष ओलीले नचाहेकै कारण पार्टीको कुनै पनि जनसंगठनमा प्रतिस्पर्धाबाट नेतृत्व चयन भएको छैन । यसअगाडि पार्टी निकटको प्रेस चौतारी, निजामती कर्मचारी संगठन, प्रगतिशील प्राध्यापक संगठन, मानवअधिकार एलाइन्स, नेपाल उद्योग तथा वाणिज्य महासंघ, प्रगतिशील इन्जिनियरिङ एसोसिएसन, रिटर्नी फेडेरेसन, लोकतान्त्रिक अपांगता संगठन, नेपाल भूपू सैनिक तथा प्रहरी संगठन, राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपाल मुस्लिम इत्तेहाद संघ र भूमिअधिकार तथा श्रमिक संगठनलगायतमा पनि ओलीकै निर्देशनमा प्रतिस्पर्धा हुन नदिई सहमतिको नाममा संगठनको पदाधिकारी तथा सदस्यहरू घोषणा गरिएको थियो ।

कतिपय संगठनमा प्रशस्तै आकांक्षीहरू देखिए पनि एमाले नेतृत्वले चुनाव हुन दिएन । पार्टी तथा जनसंगठनहरूमा प्रतिस्पर्धालाई निषेध गर्ने ओलीको रुचिप्रति एमालेका केही नेताहरूले खुलेर आलोचना गरिरहेका छन् । सर्वसम्मतिको नाममा आकांक्षीहरूको चाहना र प्रतिनिधिहरूको अधिकार खोसिएको भन्दै एमालेभित्र असन्तुष्टि बढिरहेको छ ।

युवा संघको महाधिवेशनले नौ पदाधिकारीसहित एक सय ५१ सदस्यीय नयाँ केन्द्रीय समिति गठन गर्नेछ । परिवर्तित नीतिअनुसार युवा संघमा दुईजना उपाध्यक्ष हुनेछन् । जसमा एकजना महिला अनिवार्य गरिएको छ ।