
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा चलिरहेकै अवस्थामा हिजोदेखि उत्तरी छिमेकी देश चीनको साताव्यापी भ्रमणमा निस्किनुलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा सरकारका केही मन्त्री र नेकपा (एमाले)का नेताहरूको टोली लिएर उनी चीन भ्रमणमा निस्किएकी हुन् ।
नेपालका वामपन्थीहरूको एकताको पक्षमा देखिएको चीनले दुई कार्यकाल नेपालको राष्ट्रपति भइसकेकी र एमालेको भावी नेतृत्वका लागि सक्रिय राजनीतिमा फर्कने तयारी गरिरहेकी भण्डारीलाई बोलाउनु अर्थपूर्ण रहेको विश्लेषकहरूको भनाइ छ । चीनले भण्डारीलाई नेपालमा वामपन्थीहरूबीच एकताका लागि संयोजनकारी भूमिका निर्वाहका लागि सुझाउन बोलाएको हुनसक्ने आकलन समेत राजनीतिक विश्लेषकहरूले गरेका छन् ।
गतवर्ष पनि भण्डारी चीन भ्रमणमा जाने कार्यक्रम तय भए पनि कुन हैसियतमा जाने भन्ने विषयमा समस्या देखिएपछि अन्तिम समयमा आएर स्थगित भएको थियो । पूर्वराष्ट्रपतिको हैसियतजस्तो पनि देखिने र राजनीतिक कार्यक्रमहरूमा भण्डारीलाई सहभागी गराउने मध्यमार्गी प्रस्तावमा चिनियाँ पक्ष सहमत भएपछि भण्डारी चीन भ्रमणमा गएकी समाचारस्रोतले जनाएको छ ।
भण्डारीको नेतृत्वमा चीन जाने टोलीमा एमालेका सचिव रघुवीर महासेठ, एमाले स्थायी कमिटी सदस्य तथा पूर्वउद्योगमन्त्री कर्णबहादुर थापा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, पूर्वसांसद गोमा देवकोटा, भण्डारीका देवर डा. कैलाश भण्डारी, भण्डारी राष्ट्रपति हुँदाका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी, सार्वजनिक प्रशारण संस्थाका अध्यक्ष डा. महेन्द्र विष्टलगायत छन् ।
चीन भ्रमणको क्रममा आइतबार साँझ चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग, चिनियाँ परराष्ट्र मन्त्रालयद्वारा आयोजित स्वागत समारोह तथा रात्रिभोजमा भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ । भण्डारीको चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच सोमबार अपराह्न भेटवार्ता हुनेछ । सोमबार नै चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग र चिनियाँ विदेश मन्त्रालयले आयोजना गर्ने एक कार्यक्रममा भण्डारी मुख्य वक्ता रहेकी छिन् ।
उनले राजनीतिज्ञको हैसियतमा छिमेकी देशका राजनीतिक पार्टीहरूबीचको सम्बन्धका विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । जेठ १३ गते भण्डारीले तियानमेन स्क्वायरमा माओत्सेतुङको समाधि हल र फरबिडन सिटीको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
सोही दिन बेइजिङ इकोनोमिक डेभलपमेन्ट डिस्ट्रिक्टको भ्रमण सकेर पूर्वराष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डल गान्सु प्रान्त जाने कार्यक्रम छ । त्यसपछि भण्डारीको टोलीले गान्सु प्रान्तको विकास मोडलको अवलोकन गर्नेछिन् ।
२०७२ मा राष्ट्रपति हुनुअघि एमालेको उपाध्यक्ष रहेकी भण्डारी त्यसपछि राजनीतिमा सक्रिय छैनन् । यद्यपि उनलाई पार्टीको भावी नेतृत्वमा स्थापित गर्नको लागि एमालेमा एउटा ठूलै समूह लागिपरेको छ ।









Facebook Comments