
अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालबाट कृषि तथा संशाधन अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी), राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, अर्थमन्त्रीको विज्ञ सल्लाहकार, अन्तर्राष्ट्रिय श्रम संगठनका आर्थिक सल्लाहकार, विश्व बैंकका परामर्शदाता, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का अर्थशास्त्री, अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (ईसीमोड)को बोर्ड अध्यक्ष भई काम गरिसकेका डा. विश्व पौडेललाई सरकारले आफ्नो आर्थिक सल्लाहकार मानिने केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको गभर्नरमा झन्डै डेढ महिना राजनीतिक नेतृत्वको रस्साकस्सीपछि नियुक्त गरेको छ ।
मुलुकको आर्थिक र वित्तीय क्षेत्रलाई गति दिने चुनौतीपूर्ण समयमा गभर्नर बनेका पौडेलसमक्ष विदेशी मुद्रा सञ्चिति व्यवस्थापन, बैंक तथा वित्तीय क्षेत्रका खराब कर्जा दरलाई घटाउने, कर्जा लगानीलाई विस्तार गर्दै आर्थिक वृद्धिका लागि अनुकूल मौद्रिक नीति ल्याउने, वित्तीय स्थायित्व र डिजिटल कारोवार प्रवद्र्धन, महँगी नियन्त्रणलगायतमा उल्लेखनीय सुधार गर्नुपर्ने चुनौती छन् । बाह्य अर्थतन्त्रमा केही सुधार आए पनि आन्तरिक अर्थतन्त्र अझै पनि शिथिल अवस्थामा छ । विदेशी विनिमय सञ्चिति, रेमिट्यान्स, शोधनान्तरलगायत बाह्य सूचक निरन्तर बलियो बन्दै गए पनि अर्थतन्त्र अझै चलायमान बन्न सकेको छैन । १० महिनामा सरकारको राजस्व संकलन दर करिब १२ प्रतिशतले मात्र बढेको छ ।
लक्ष्यभन्दा निकै कम मात्र पुँजीगत खर्च भएको छ भने सार्वजनिक ऋणको दायित्व तीव्र रूपले वृद्धि भइरहेको छ । पछिल्लो समयमा लगानीको वातावरण नहुँदा बैंक तथा वित्तीय संस्थामा तरलता बढिरहेकोे छ । निरन्तर बैंक तथा वित्तीय संस्थामा तरलता थपिँदै जाँदा पनि उपर्युक्त लगानीका क्षेत्रहरू नपाउँदा बैंक तथा वित्तीय संस्थाहरूमा तरलता थुप्रिँदो छ । बैंक तथा वित्तीय संस्थाहरूमा झन्डै ६ खर्ब रुपैयाँ थुप्रिएको अवस्था छ । यसलाई परिचालन गर्न बैंकिङ लगानीको वातावरण सिर्जना गर्ने जिम्मेवारी पनि नयाँ गभर्नरमा छ ।
शिथिल अर्थतन्त्रको असर समग्र वित्तीय प्रणालीमा परेको छ । विगतमा अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच देखिएको द्वन्द्वले अर्थतन्त्रमा परेको प्रभावलाई मध्यनजर गरी मन्त्रालय र बैंकबीचको द्वन्द्व निवारणमा पनि नयाँ गभर्नरको भूमिका महत्वपूर्ण रहेको छ । वित्तीय अपराध नियन्त्रणमा न्यूनतम मापदण्ड समेत पूरा गर्न नसक्दा नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा परेकाले त्यसबाट बाहिर निकाल्ने जिम्मेवारी पनि गभर्नरको काँधमा छ । ग्रे लिस्टबाट बाहिर आउन नेपालले पाएको दुई वर्षको अवधिमा निकायगत समन्वय गर्दै ग्रे लिस्टबाट बाहिर निकाल्न गभर्नरको गहन भूमिका रहन्छ ।
दुई वर्षभित्र ग्रे लिस्टबाट बाहिर नआउने हो भने नेपाल ब्ल्याक लिस्टमा पर्ने र त्यो मुलुकको अर्थतन्त्रका लागि अत्यन्तै घातक हुने भएकाले नयाँ गभर्नरले ग्रे लिस्टबाट बाहिर निकाल्न प्रभावकारी कदम चाल्नुपर्ने अहिलेको टड्कारो आवश्यकता हो । निजी क्षेत्रको आत्मविश्वास बढाई अर्थतन्त्रलाई चलायमान बनाउन पनि गभर्नरले धेरै कसरत गर्नु जरुरी छ ।
गभर्नर नियुक्तिका क्रममा राजनीतिक नेतृत्वबीचको खिचातानीले गिर्न पुगेको राष्ट्र बैंकको गरिमा र ओजलाई पुनस्र्थापना गर्दै बैंकको निरपेक्ष स्वायत्तता कायम गर्ने चुनौती पनि गभर्नरमा छ । नेपाल राष्ट्र बैंक ऐनअनुसार गभर्नर पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ गभर्नर छनोट गरिसक्नुपर्नेमा उक्त कानुनी प्रावधानविपरीत राजनीतिक नेतृत्वले गभर्नर पदलाई हदैसम्म गिजोलेर रिक्त भएको झन्डै डेढ महिनापछि गभर्नर नियुक्ति हुँदा राष्ट्र बैंकको छविमाथि नै आँच पुग्ने काम भएको छ ।
मुलुकको शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन पुँजी बजारलाई गति दिनुपर्ने जिम्मेवारी पौडेलको छ । मुलुकको अर्थतन्त्रलाई माथि उकास्न उनले राजनीतिभन्दा माथि उठेर थुपै्रै कामहरू गर्नुपर्ने अहिलेको आवश्यकता हो । नयाँ गभर्नरले राष्ट्र बैंकलाई राजनीतिक छायाबाट मुक्त गर्न पनि सफलता हासिल गर्ने अपेक्षा गरिएको छ ।
सरकारले लिएको उच्च आर्थिक वृद्धिलाई सहयोग पुग्नेगरी तरलता व्यवस्थापन, वित्तीय तथा मौद्रिक स्थायित्व कायम गर्न गभर्नरको भूमिका अहम् हुन्छ । कर्जाको गुणस्तर खस्किएको अवस्थामा नयाँ गभर्नरले वित्तीय संस्थाहरूको नियमन र सुपरिवेक्षणमा बढी ध्यान दिएर काम गर्नुपर्छ । वित्तीय क्षेत्रमा जोखिम कम गर्न र वित्तमा पहुँच बढाउन नियमन र सुपरिवेक्षणलाई बलियो बनाउनु आवश्यक छ नै । मुलुकको अर्थतन्त्र सुधारका लागि प्रशस्तै चुनौतीहरू रहेको अवस्थामा गभर्नर बनेका विश्व पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास सबैको छ ।
सुस्त अर्थतन्त्रलाई गति प्रदान गर्न र खराब कर्जाको चपेटामा परेको बैंकिङ क्षेत्रलाई सुरक्षित अवतरण गराउन तथा अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखापरेका समस्या समाधानमा नवनियुक्त गभर्नर डा. पौडेलले उपलब्धिमूलक पहल गर्न सक्ने विश्वासका साथ सफल कार्यकालको शुभकामना !









Facebook Comments