काठमाडौं । पूर्वपञ्च नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले गणतन्त्र स्थापनाको दिन जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेको छ ।

चैत १५ गते तीनकुनेको हिंसात्मक गतिविधिका कारण शिथिल भएका राजावादीहरू फेरि एकजुट भएर संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध धावा बोल्ने प्रयासमा छन् ।

ad

गत चैत १५ मा तीनकुनेमा राजावादीले गरेको कार्यक्रम हिंसात्मक बनेपछि सरकारले पनि उनीहरूको तयारी र गतिविधिलाई सचेततापूर्वक हेर्न थालेको छ । सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले राजावादीहरूले वर्तमान व्यवस्थाविरुद्ध चुनौती दिने प्रयास भए कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले भनेका थिए, ‘जेठ १५ गते गणतन्त्र दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ । त्यसैदिन गणतन्त्रलाई चुनौती दिने राजावादीहरूले प्रयास गर्दै छन् । सधैँ संविधान र व्यवस्थाविरोधी गतिविधि गरे यथोचित प्रतिवाद हुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पोखराको एक कार्यक्रमलाई सम्बोधन गर्दै फेरि प्रतिगमन फर्काउने सपना नदेख्न चेतावनी दिए । ‘प्रधानमन्त्रीलाई भाग्न हेलिकोप्टरको सुविधा दिनेजस्ता उत्ताउलो कुरा पनि गरेका छन् । म भन्न चाहन्छु, कुनै पनि प्रतिगमनको कुचेष्टालाई धुलोपिठो बनाइन्छ,’ उनले भने ।

पूर्वराजा ज्ञानेन्द्रसँगको भेटवार्ताबाट हौसिएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री ओलीलाई हेलिकोप्टरबाट भाग्नका लागि सुविधा दिने बताएका थिए । ‘प्रधानमन्त्रीले उमेरको हिसाबले पनि भाग्न सकिँदैन । भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने हामीले उहाँहरूलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ । हेलिकोप्टरको सुविधा प्रयोग गर्ने छुट दिइनेछ,’ जेठ ६ गते लिङ्देनले भनेका थिए ।

गणतान्त्रिक शासकहरूप्रति सडकमा बढ्दो जनआक्रोशको सहानुभूति आफूले पाउन सक्ने आकलनका साथ पूर्वराजा ज्ञानेन्द्रले फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्र निर्माणका लागि साथ दिन आग्रह गरेका थिए ।

गणतन्त्रवादीहरूलाई चुनौती दिँदै पूर्वराजा ज्ञानेन्द्रले वैशाख २५ गते आन्दोलनका संयोजक सुवेदी, राप्रपाका लिङ्देन, राप्रपा नेपालका अध्यक्ष थापा, पूर्वमन्त्री केशरबहादुर विष्ट लगायत नेताहरूलाई नगरकोट बोलाएर एकै ठाउँमा ल्याउन भूमिका निर्वाह गरेको राजावादीहरूले बताएका छन् ।

ज्ञानेन्द्रसँग छलफलपछि आन्दोलन समितिका संयोजक सुवेदीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई दायाँबायाँ राखेर गणतन्त्रविरुद्ध अनिश्चितकालीन आन्दोलन घोषणा गरे ।

तीनकुने घटनापछि राजावादीहरू तितरबितर भएर कमजोर भएको निष्कर्ष सरकारले निकालेको थियो । हिंसात्मक गतिविधि गरेको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं लगायत आठजनालाई राज्य विप्लवको मुद्दा लगाइएको छ । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायत धरौटीमा छुटेका छन् ।

०६५ साल जेठ १५ गते संविधान सभाबाट राप्रपा नेपालबाहेक सबै राजनीतिक दलहरू गणतन्त्रको पक्षमा उभिएका थिए । गणतन्त्र ल्याउन सहज रूपमा सत्ता छोडेका ज्ञानेन्द्र पछिल्लो समय जनतामा व्याप्त असन्तुष्टि भजाउन प्रयासरत देखिन्छन् ।

जनमतबाट नै विश्वका धेरै मुलुकमा अतिवादी शक्तिहरू सत्तामा पुगेको, दक्षिण एशियाली मुलुकका अफगानिस्थान, श्रीलंका, बंगलादेशमा जनविद्रोहबाट सत्ता कब्जा गरिरहेको अवस्थामा नेपालमा पनि राजावादीहरू उत्साहित हुन थालेका छन् । गणतान्त्रिक शासकहरूप्रति सडकमा बढ्दो जनआक्रोशको सहानुभूति आफूले पाउन सक्ने आकलनका साथ पूर्वराजा ज्ञानेन्द्रले फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्र निर्माणका लागि साथ दिन आग्रह गरेका थिए ।

चैत १५ मा तीनकुने घटनापछि राजावादीहरूलाई धक्का लागेको त छ नै, प्रधानमन्त्रीसहित विभिन्न दलका नेताले सो घटनामा पूर्वराजा ज्ञानेन्द्र नै जिम्मेवार हुने भन्दै उनी कारबाहीको भागिदार हुने चेतावनीसमेत दिएका थिए ।