
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा आज सुनुवाइ नसकिएपछि हेर्दाहेदैमा राखिएको छ ।
न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा आज सुनुवाइ प्रारम्भ भए पनि नसकिएपछि हेर्दाहेर्दैमा बुधबारका लागि राखिएको हो ।
सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेका तर्फबाट दायर भएको उक्त बन्दी प्रत्यक्षीकरणको रिट पटक पटक हेर्न नमिल्ने सूचीमा परेको थियो ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सोमबार पेशी तोकिएको भए पनि हेर्न नमिल्ने सूचीमा राखिएपछि सुनुवाइ हुन सकेको थिएन ।
मंगलबारको सुनुवाइमा लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुदीज्ञ पन्त, सुशील पन्त, सुरेन्द्र थापा, दिपेन्द्र झालगायतले बहस गरे। न्यायाधीशहरूले बहस छोट्याएर आजै टुंग्याउन आग्रह गरे पनि लामिछानेका कानुनी व्यवसायीहरूले मात्र बहस गर्न भ्याए। बुधबार पूर्वडीआईजी छविलाल जोशी, पीडितका तर्फबाट कानुन व्यवसायी, र सरकारी वकिलले बहस गर्नेछन्।
लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटसँगै उनले र पूर्वडीआईजी छविलाल जोशीले उजुरीकर्ता नारायणबहादुर पहराईसहित ४४ जनाविरुद्ध दायर गरेका दुईवटा अन्य रिट पनि सोही इजलासमा राखेर हेरिएको छ। यी रिटहरूमा पनि सुनुवाइ बुधबार नै हुने बताइएको छ।









Facebook Comments