काठमाडौं । शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस सभापति देउवालाई डडेल्धुरा पुगेर फोन गरेका छन् । डडेल्धुरा देउवाको गृहजिल्ला हो ।

यसअघि २०८० मंसिर १५ गते नेकपा एमालेका अध्यक्ष ओलीले पनि डडेल्धुरा पुगेर काठमाडौंमा रहेका देउवालाई फोन गरेका थिए । ओलीकै सोही ‘फोन कूटनीति’अनुसार नै प्रचण्डले शुक्रबार देउवासँग वार्ता गरेका हुन् ।

ad

ओलीले डडेल्धुरा पुगेर देउवालाई फोन गरेको सात महिनापछि ओली–देउवाबिच निर्णायक छलफल भई दुई ठुला दलबिचको गठबन्धन निर्माण भयो । कतै प्रचण्डले पनि यस्तै राजनीतिक उपलब्धिका लागि ‘फोन कूटनीति’ अघि सारेका त होइनन् भन्ने आशङ्का राजनीतिक वृत्तमा रूपमा उब्जिएको छ ।

यद्यपि, एउटा प्रमुख दलको शीर्ष नेतालाई उनकै गृह जिल्ला पुगेको बेलामा सम्झिनु र फोन वार्ता गर्नुलाई ‘राजनीतिक संस्कार’का रूपमा लिन सकिन्छ ।

२०७९ को निर्वाचनपछि प्रतिनिधि सभाको ठूलो दल नेपाली कांग्रेस पटक–पटक सत्ता साझेदार दलको भूमिकामा छ । यसबिचमा कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पालैपालो प्रधानमन्त्रीका रूपमा समर्थन जनाएको छ ।

गत वर्ष असार १७ गते नेकपा एमालेका अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच भएको सहमति अनुसार अब १४ महिनापछि कांग्रेसले सरकारको नेतृत्व गर्न पाउनेछ ।

यद्यपि, प्रमुख तीन दलबिच गठबन्धन केन्द्रित विभिन्न गतिविधि भइरहेका छन् । माओवादी केन्द्रकै नेताहरू अहिलेको गठबन्धन आफ्नै भारले ढल्ने दाबी गरिरहेका छन् ।